Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

ट्रेड युनियनले समानान्तर भूमिका खोज्न नहुने : पण्डित



काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ट्रेड युनियनले समानान्तर भूमिका खोज्न नहुने बताएका छन् ।

ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसेज एण्ड एलाइडले राजधानीमा आयोजना गरेको ‘दि रोल अफ ट्रेड युनियन वन एन्टिक्रप्सन एण्ड सर्भिस डेलिभरी इन पब्लिक सर्भिस’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले सो कुरा बताए।

‘नीति निर्माणमा ट्रेड युनियनको महत्त्वपूर्ण भूमिका रहन्छ’ मन्त्री पण्डितले भने ‘तर खुद्रा मसिना कुरामा हरेक ठाउँमा भूमिका खोज्ने स्थिति हो भने युनियन समानान्तर सरकार होइन’

ट्रेड युनियन र सरकार मिलेरै अगाडी बढ्नु पर्ने बताउँदै मन्त्री पण्डितले आफ्नो भूमिकालाई बुझेर अघि बढ्यो भने कुनै कन्फ्यूजन नहुनेसमेत बताए ।

मन्त्री पण्डितले सरकार ट्रेड युनियनका जायज कुराहरूमा छलफल गर्न र निष्कर्षलाई कार्यान्वयनमा लैजान कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कार्यक्रमको औचित्यका विषयमा बोल्दै सुधारको सुरुवात म बाट गर्छु भन्ने प्रतिबद्धता गर्‍यो भने मुलुक समृद्ध र नेपाली सुखी हुने कुरामा दुई मत नहरेको उनको भनाई छ ।

साथै ट्रेड युनियनहरूको आवश्यकता कसैले कोच्याएको नभई आवश्यकताको आधारमा भएको मन्त्री पण्डितको भनाई छ । उनले आवश्यकता रहुन्जेल ट्रेड युनियनलाई कसैले फालेर नफालिनेसमेत बताए ।

कार्यक्रमबाट बोल्दै मन्त्री पण्डितले वर्तमान सन्दर्भमा सेवा प्रवाहबाट जनता सन्तुष्ट नभएको बताएका छन् । ‘सेवा प्रवाहबाट जनता सन्तुष्ट हुन सकिरहेको छैन’ मन्त्री पण्डितले भने ‘यो एउटा तितो यथार्थ हो । यही गतिमा हामी रह्यौँ भने सुखी र समृद्ध बनाउन सक्छौँ कि सक्दैनौँ भन्नेमा प्रश्न चिन्ह उठ्छ ।’

उनले नेतृत्व तहले गल्ती गर्न नहुने समेत भनेका छन् । ‘बुझेर गल्ती गर्नेलाई थपेर सजाय दिनु पर्छ’ उनले भने ‘अगुवाहरूले नराम्रो कुरा आफूले गर्न हुँदैन’

मन्त्री पण्डितले सरकार र जनताले कामलाई माया गर्ने भएकोले जनताको एक एक रुपैयाँको मेहनत पसिनाबाट कमाएको प्रतिफल राष्ट्रसेवकबाट राष्ट्र र जनताले पाउनुसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्