यसरी पो हुन्छ कि मातृभूमिको सम्मान ?



विश्वभरका मानिसको सपना थलो– अमेरिका। डाक्टर, प्राध्यापक,इन्जिनियर, होटल सञ्चालक धेरै पद र ओहोदामा देखिए नेपालीहरू। दाजु–भाइमात्र हैन, दिदी–बहिनी पनि डा. हेड नर्स,वैज्ञानिक आदि पदमा आसीन देख्दा खुसी चुलिनु स्वाभाविकै थियो। यात्राका क्रममाभेटिएका उर्मिला निर्दोषी, कमला न्यौपाने, डा. सविना, मिना भट्टाई, सुस्मिता अधिकारी, प्रतिमा आचार्य आदिको अवस्था र स्थिति सराहनीय लाग्यो। पछिल्लो पटक नेपाली विद्यार्थीले पनि विश्वका धेरै विद्यार्थीलाई उछिनेर अघि बढेका सुन्दा–देख्दा मन प्रफुल्लित भयो। कामप्रति श्रद्धा गर्ने र भविष्यबारे सोच्ने तौरतरिका पनि मन पर्यो। यसरी समग्रमा हेर्दा नेपालबाट गएकाहरू खुसी देखिए। कर्ममा विश्वास गर्दै अघि बढेका पाइए। सुकिला–मुकिला पनि पाइए। जुन राम्रो पक्ष हो।

मनमा उब्जिएको प्रतिक्रिया
उहाँहरूको हाउभाउ, कुराकानी र क्रियाकलाप देखे÷सुनेपछि लाग्यो– अमेरिकालाई सुन्दर बनाउन लागिपर्नुभएका नेपाली दाजु–भाइ, दिदी–बहिनीले त्यो श्रम, त्यो विवेक, त्यो क्षमता नेपालमै खर्च गरे कति राम्रो हुन्थ्यो होला ?उहाँहरू त बन्नुहुन्थ्यो नै, अरुले पनि यो सिप र क्षमताबाट मनग्गे फाइदा लिन सक्थे। अनि त्यो फाइदा समग्र नेपालीका भागमा पुग्न सकेको भए हामी हाम्रै देशमा गर्व गर्न सक्ने अवस्थामा हुने थिएनौँ र ?आफ्नै देशमा बस्ने, यहीँ सिप र सिर्जना खर्चने गर्न सके यो मुलुकमात्र सुन्दर बन्दैन भन्ने छ र ? अनि मनमा खेलिरह्यो– मुलुकले आफ्नो गच्छेअनुसार सबै नेपालीलाई पढाउने, खुवाउने, सुरक्षा र स्वास्थ्योपचार आदिको सुविधा दिएकै हो। तर जब यी सुविधा लिइसकेर ऊ मुलुकलाई केही दिनुपर्ने अवस्थामा पुग्छ तब आफ्नो स्वार्थमात्र हेरेर विदेशिन्छ। त्यो पनि आफैँलाई जन्माउने, हुर्काउने र बढाउने मातृभूमिलाई धिक्कार्दै। धेरै कुरा खेले मनमा। तर चित्त बुझाउनुको विकल्प नै कहाँ थियो र ? चित्त बुझाएँ मैले पनि।

रोग उस्तै
काम, पढाइ, घुमफिर जस्ता विभिन्न उद्देश्यले अमेरिका पुगेका नेपालीले फरक फरक संस्था खोलेका रहेछन्। प्रवासी नेपाली एसोसिएसनको बैठकमा बस्ने र सुन्ने अवसर जुर्यो। त्यही क्रममा थाहा भयो कियहाँ आइपुगेका नेपाली एउटै संस्थामा आबद्ध हुन सकेका रहेनछन्। अमेरिकन नेप्लिज एसोसिएसन, अमेरिकन नेप्लिज युथ एसोसिएसन, अमेरिकन नेप्लिज चिकित्सक एसोसिएस… जस्ता धेरै संस्था रहेछन्। ती संस्थाबीच पनि खासै मिलन देखिएन। हुन त मिलन हुन सकेको भए किन धैरै खुल्थे र एउटैको सट्टा भन्ने पनि लाग्यो। अनि एउटा संस्थाका पदाधिकारी र समर्थकले अर्को संस्थाका पदाधिकारी र समर्थकको कुरा काट्ने चलन पनि हटेको रहेनछन्। आखिर जहाँ गए पनि नेपालीको बानी कहाँ हट्दो रहेछ र भन्ने निष्कर्षमा पुग्न बाध्य भएँ। विदेशमा त आफू–आफू मिल्न नसक्नेले स्वदेशमा कसरी मिलून् ?– प्रश्न पनि उपस्थित भयो मनमा।

गुनासोका खात
भेटिएका तथा बैठकमा उपस्थित धेरैका कुरा सुनियो। कुराकानीका क्रममा मीठोभन्दा तीतो बढी ओकले। एउटाको भनाइ थियो–‘नेपालका नेता खत्तम भए। उनीहरूकै कारण देश रोइरहेको छ।’ अर्कोको भनाइ थियो–‘तपाईँहरू देशमा बसेर के गर्नुहुन्छ ? बाटोघाटो सबै बिग्रिएको छ। बत्ती, पानीको ठेगान छैन।’ अनि झन् अर्कोले फुर्ती लाए– ‘नेताहरूलाई यहीँ बोलाएर सुझाव दिएका छौँ, घुमाएका छौँ, घरमा खुवाएका छौँ, पैसा दिएर सहयोग गरेका छौँ। कति मन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरूलाई प्लेनको टिकटसमेत काटेर पठाएका छौँ। तर पनि फेरिएनन्।’ एकजना भन्दै थिइन्– यहाँको विकास देखाउँछौँतर पनि ख्वैदेश बनाएका नेताहरूले?

हामी नेता र आफ्नो मुलुकलाई गाली गरेका, खिस्याएका र तल झारेर कुरा गरेका सुन्दा सुन्दा अवाक भइसकेका थियौँ। त्यत्तिकैमा एकजनाले झन् चर्को स्वरले थपे– ‘अब त नेताहरू आए भने जुत्ताको माला लगाइदिन्छौँ।’उनीहरू यतिसम्म भन्न भ्याए कि नेपालमा हुने सबैखाले राजनीतिक नियुक्तिको रिमोट नै उनीहरूको हातमा छ रे। बेलुका बेलुका उनीहरूसँग हुने नेताहरूको भिडियो कल नै त्यस्ता नियुक्तिका आधार हुने गर्छन् रे।कतिको त नामै लिएर फलानालाई मैले फलानो नेतालाई भनेर फलानो पदमा नियुक्ति दिलाएको हुँ भन्न पनि पछि परेनन् उनीहरू।

कृपया, विदेश बसेर नेपाल र नेपालीलाई होच्याउने कामले कसैको भलो गर्दैन। अझ नेताहरूलाई खुइलाउने प्रवृत्ति त झनै घातक छ। केही डलर कोहीमार्फत केही कामका लागि पठाइदिएकै भरमा सबैलाई खिसी गर्ने हक प्राप्त हुँदैन।

अमेरिकाको विकास निर्माण, कामप्रतिको सम्मान, सफाइ अनि प्रक्रिया पछ्याउने तौरतरिका देखेर निकै कौतुहल अनि जिज्ञासु भएको मन नेपालीहरूको बैठकमा पुगेपछि उनीहरूले व्यक्त गरेका धारणाबाट निकै अमिलो भयो।विभिन्न दुःख, कष्ट सहेर, अभाव र गरिबीसँग जुध्दै आफ्नै देशमा केही गर्नुपर्छ भनेर बसेकालाई उनीहरूले होच्याएका देख्दा कम्ता नरमाइलो लागेन। आफ्ना नेतालाई आफ्नैअगाडि तथानाम गाली गरेका र आरोपै आरोपको भारी बोकाएका देख्दा कम्ता दिक्क लागेन।उनीहरू आफूहरूले भूकम्पपीडितका लागि पैसा पठाएको सुनाएर,विभिन्न ठाउँमा विद्यालय, शौचालय बनाउन सहयोग गरेको सुनाएर के के न गरेको फुइँ लगाइरहेका थिए। अनि उल्टै उनीहरूले नै पठाएका पैसा र सहयोगमा यहाँ बस्नेले मोज गरेको आरोपसमेत लगाउँथे।दुरुपयोग भएको दाबी गर्थे।आफ्ना बच्चाहरूले टिफिन खर्च काटेर दिएको पैसा नेपालीले त्यत्तिकै उडाए भनेर गाली गरिरहेका थिए।

लागेको कुरा
नम्बर एक– जो मातृभूमिप्रति अगाध आस्था राख्छ, उसले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनै सक्दैन। त्यसैले पलायन हुनु नै प्रशंसायोग्य काम हुनै सक्दैन।नम्बर दुई– अमेरिकामै विभिन्न कारणले दुःख पाउने थुप्रै नेपाली छन्। उनीहरूले सक्छन् भने तिनै नेपालीका समस्या समाधानमा ध्यान दिए हुन्छ। यहीँ बसेका नेपाली त आफ्नै माटोमा दश नंग्रा खियाएर भए पनि खाएकै छन्, हाँसीखुसी बाँचेकै छन्। नम्बर तीन– जो आफ्नो मुलुकप्रति निराश भएर विदेश गएको छ, यहाँ नपुगेर, नराम्रो लागेर राम्रो ठाउँको खोजीमा लागेको छ, उसले कति चाहिने हो, त्यो नपुगुन्जेल कमाइधमाइ तथा शिक्षा, सिप जे आर्जन गर्ने हो, त्यसैमा ध्यान दिए थप कल्याण हुँदो हो। नेपाल र नेपालीको चिन्ता धेरै गरेर नदुब्लाउनु नै वेश हो कि भन्ने लाग्छ। नम्बर चार–बरु सक्नुहुन्छ भने नेपालका पर्यटकीय स्थलहरूको चर्चा त्यहीँ गरिदिनोस् ताकि विदेशी यहाँ घुम्न आउन्। विद्यार्थी भ्रमण आदान–प्रदान जस्ता रचनात्मक व्यवस्थाहरू गर्न सकिन्छ। कम्तीमा अर्काको मुलुकमा पुगेका आफू–आफूमात्र मिलिदिनुभयो र एकले अर्काको कुरा काट्न छाड्नुभयो भने पनि त्यो सबैका लागि उपकारकै विषय हुनेछ।

कृपया, विदेश बसेर नेपाल र नेपालीलाई होच्याउने कामले कसैको भलो गर्दैन। अझ नेताहरूलाई खुइलाउने प्रवृत्ति त झनै घातक छ। केही डलर कोहीमार्फत केही कामका लागि पठाइदिएकै भरमा सबैलाई खिसी गर्ने हक प्राप्त हुँदैन। कम्तीमा पनि तपाईँ जहाँ जहाँ हुनुहुन्छ, त्यहाँ त्यहाँ मुलुक र मुलुकबासीबारे सकारात्मक कुरामात्र गरिदिनुभयो भने पनि राष्ट्र कल्याणमा ठूलो सहयोग पुग्नेछ। यो सहयोगका लागि तपाईँका बालबच्चाको टिफिन खर्च कटाउनु पर्दैन भने त्यसैका आधारमा परिश्रमी र इमानदार नेपालीले ‘खाइदिएको अपजस’ झेल्नु पनि पर्दैन।

प्रतिक्रिया दिनुहोस्