सुगतरत्नको बिदाई सम्बोधन, “हस्तक्षेप नगरेको भए वाइडबडी खरिद सम्भव हुँदैन थियो”



नेपाल वायुसेवा निगममा मैले पहिलो पाइला टेकेको मिति २०६५,७,२२ मा महाप्रवन्धकको पदमा नियुक्त भए पछि हो। नेपाल टेलिकममा ३४ वर्ष काम गरिसकेपछि निगममा पहिलो पल्ट प्रवेश गरेको हुँदा शुरुका केही दिन निगमका पदाधिकारीहरुसँग संवाद, छलफल, अन्तर्क्रिया गर्दै प्रचुर मात्रामा अध्ययन विश्लेषण गरे।

अघ्ययन विश्लेषण कै सिलसिलामा निगमलाई संरचनात्मक परिवर्तन गरी व्यवस्थापकिय सुधार गर्ने सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझाव दिन मिति २०५८,११,३ देखि २०६७,२,१२ बीच गठन गरिएको पाँचवटा उच्चस्तरीय कार्यदलहरुको प्रतिवेदनहरु मैले पढे। ती सबै प्रतिवेदनहरुले प्रत्येक्ष र अप्रत्ये़क्ष रुपमा व्यवस्थापन सुधार नगरिकन अथवा संरचनात्मक परिवर्तन नगरिकन सेवा विस्तार गर्नु उचित नहुने राय दिएको भएतापनि मैले विमान खरिद गरि सेवा विस्तार गर्ने कार्य र व्यवस्थापन सुधार कार्य सँगसँगै जानु उचित हुने धारणा मैले अघि सारे।

निगमको लागि यो एक प्रकारको आधारभुत रणनीतिक परिवर्तन थियो। यही रणनीति बमोजिम मैले निगममा पाइला टेकेको ५ महिनामा नै पर्यटन मन्त्रालय, संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५,१२,२५ मा टेण्डर आह्वान गर्न सफल भएँ। विमान खरिद गर्न अनिवार्य रुपमा लिनै पर्ने ऋण बापत नेपाल सरकारले जमानत दिन सक्ने अधिकार नेपाल सरकारलाई प्रदान गर्न ऋण तथा जमानत ऐन, २०२५ लाई नै संसोधन गराउन पहल गरियो र उक्त अति महत्वपुर्ण कार्य पनि मिति २०६६,८,१० मा संसोधन भए पछि सफल भयो। यसरी विमान खरिद गर्दै जान आर्थिक श्रोतको व्यवस्था गर्न निगमलाई एक ठुलो उपलब्धी हासिल भयो।

नेपाल भ्रमण वर्ष २०११ अगावै जसरि भए पनि कम्तिमा पनि एउटा नयाँ टल्केको विमान काठमाण्डौंमा अवतरण गराउने महान लक्ष्य लिएर युध्द स्तरमा खरिद प्रकृया अघि बढाएँ। तर निगमलाई कुनै हालतमा उभो लाग्न नदिने केहि तत्वले अनर्गल प्रचार प्रसार गरि विमान खरिद प्रकृयामा अवरोध खडा गरिदियो र मुद्दा मामिलामा अल्झाएर दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन गयो। त्यस समय उक्त ६ वटा विमान योजना बमोजिम ल्याउन दिएको भए आजको दिनमा निगमसँग घटीमा १० वटा जेट विमान हुन्थ्यो र कम्तीमा पनि जापान र युरोप सन् २०१३ को शुरुमा नै उडान भैसक्थ्यो होला, किन कि आइकाओ र इयूले नेपाललाई ब्लाय्क लिष्टमा राखेको सन् २०१३ को अन्ततिर मात्र हो र सेवा संचालन भैसकेको अवस्थामा संचालनमा रहेको गन्तब्यलाई बन्द गर्दैन।

उक्त ६ वटा विमानको खरिद प्रकृया ऐन कानून नियम विनियम बमोजिम नै गरिएको ठहर गरि सम्मानित सर्बोच्च अदालतले मिति २०६९,१,१२ मा फैसला गर्यो र उक्त ३८ पानाको पूर्णपाठको एक अंशमा उल्लेख गरेको छ कि “व्यवस्थापनको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूलाठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजका पूँजी हुन भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ  निर्णय लिने सोच सवैमा हुन जरुरी छ।”

मिति २०७२,२,१४ मा म पुनस् महाप्रबन्धक पदमा नियुक्त भएर आएँ। अन्दाजी ५० लाख नेपाली नागरिक मुलुक बाहिर भएको कारण र विदेशी पर्यटक संख्या उल्लेखनीय रुपमा बृध्दी गर्न नेपाल आउन लाग्ने चर्को हवाई भाडालाई निगमले हस्तक्षेपकारी भुमिका खेल्नै पर्छ भन्ने मान्यतामा शुरुवातको रुपमा दुई वटा वाइडबडी विमान खरिद गर्ने प्रकृया प्रारम्भ गरेँ। वाइडबडी खरिद कार्यसम्पादनका क्रममा निगमको कर्मचारीहरुबाट भव्य रुपमा गरिएको सहयोग र समर्थनका लागि म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। मेरो विवेक र क्षमताले भ्याए सम्म प्रचलित ऐन कानून र निगमको आर्थिक विनियमावलीलाई अनुशरण गरि अत्यन्तै पार्दर्शी ढंगले सम्पुर्ण खरिद प्रकृया अघि बढाइएको थियो। निगमको कार्यकारी प्रमुखको हैसियतले आफ्नो जिम्मेवारी निर्वाह गर्नमा निगम कर्मचारीहरुबाट हात नबढाएको भए र उदारतापूर्वक सहयोग प्रदर्शित नगरेको भए पक्का पनि वाइडबडी खरिद सम्भव हुँदैन थियो।

वाइडबडी खरिद प्रकृया शुरु हुनासाथ व्यवस्थापकिय सुधार कार्यहरु पनि प्रारम्भ गरियो। हरेक सुधारको पक्षमा पनि निगम कर्मचारी परिवारबाट ठुलो सहयोग मैले पाएँ। जस्को फलस्वरुप ग्राउन्ड हैंडलिंगमा सुधार मात्र होइन अन्तर्राष्ट्रिय गुण स्तर चिन्ह आइसागो सर्टिफिकेट प्राप्त भयो। त्यसै गरि अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्सको रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय संस्था क्ष्ब्त्ब् को सदस्य बन्न गृहकार्य प्रारम्भ गरियो। निगम भित्र व्यापक रुपमा कम्प्यूटराइजेशन गर्ने तर्फ पाइला चालियो। अनलाइन बूकिंग संचालनमा ल्याइयो। इन्जिनियरिंग र अप्रेशन तर्फ अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर प्रणाली खरिद गरि संचालनमा ल्याइयो। निगमलाई अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तर गर्न निगमको सबै कृयाकलापहरुलाई समेट्ने गरि बृहत रुपमा कम्प्युटराइजेशनमा जानै पर्छ भन्ने मान्यतामा जतिसुकै कठिन भए पनि इन्टर्प्राइज रिसोर्स प्लानिंग इआरपी प्रणाली भित्र्याउन गृहकार्य शुरु गरियो।

आउने दिनहरुमा आन्तरिक सेवा तर्फ पनि उपयुक्त विमानहरु थप्दै सबै ट्रंक रुटहरु र स(साना चालु स्टोल विमानस्थलहरु लगायत नागरिक उड्डयन प्राधिकरणले उडान योग्य अवस्थामा पुर्याउने थप विमानस्थलहरुमा समेत नियमित उडानहरु राख्ने जमर्को गरेर राष्ट्र निर्माणमा टेवा पुर्याउने तर्फ पनि मेरो योजना थियो। म सबै कर्मचारी साथीहरुलाई स्मरण गराउन चाहन्छु कि गत तीसौं चालिसौं वर्ष सम्म निगमले अन्तर्राष्ट्रिय सेवा, ग्राउन्ड हैंडलिंग सेवा र आन्तरिक सेवाको ब्यापारबाट आउने आम्दानीलाई सन्तुलित रुपमा व्यवस्थापन गरी निगमले राष्ट्र निर्माणमा ठूलो भुमिका खेलिरहेकै थियो। अवका दिनहरुमा यो नै नीति लिएर निगमले देश सेवा गर्न अघि बढ्नु पर्छ।

निगममा संस्कार परिवर्तन गर्न र कर्मचारीहरुमा काम प्रति जोश जाँगर र उत्साह ल्याउन मैले धेरै प्रयास गरेँ, अफिस राजनीति वा गुटबन्दीलाई धेरै मात्रामा निस्तेज पार्नमा सफल भएँ। सरुवा, बढुवा, तालिम र विदेशी पोष्टिंगमा न्योयोचित निर्णय लिनेमा निकै जोडबल गरेँ। भनिन्छ कुनै पनि संस्थाको व्यवस्थापनमा सवभन्दा कठिन कार्य नै कर्मचारीहरुको मन माइन्डसेट परिवर्तन गर्ने हो र यस सम्बन्धमा निगम कर्मचारीहरुको विचार, चिन्तन, मानसिक्ता र अन्तरज्ञानमा सकारात्मक परिवर्तन ल्याउन मैले सक्दो भूमिका खेलेँ। टिम स्पिरिट, एक आपसमा सहयोगको भावना, आफ्नो रोजगारीमा गौरव, प्रशन्न मुद्रामा रहने, ग्राहकलाई आदर गर्ने वानि व्यहोरा, आफुले गरिरहेको कार्य सम्पादनबाट अप्रत्यक्ष रुपमा मुलुकको तीन करोड जनताको प्रतिव्यक्ति आय बढाउने जस्तो धर्मको काम गरिरहेको महसुस गर्ने आदि जस्ता मुल्य र मान्यतामा गम्भिर रुपमा संधै ध्यान दिन कर्मचारी साथीहरुलाई निरन्तर रुपमा बोध गराउँदै आएँ।

नेपाल वायुसेवा निगमको विकास नगरि पर्यटन विकास असम्भव छ र पर्यटनको बिकास बिना देश बिकास असम्भव छ भन्ने मेरो बिश्वास रही आएकोले विभिन्न अवरोध र अपमानको समेतको परवाह नगरिकन मैले निगमलाई एक उचाईमा पुर्याउने उद्देश्य प्राप्तीका लागि अघि बढिरहेँ। म कामना गर्छु( निकट भविष्यमा नै निगमको सेवा युरोप, अमेरिका र अष्ट्रेलिया पुगोस, यसमा मैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रण गर्दछु।

अन्तमा मैले करिव ४१ वर्ष दुईवटा सार्वजनिक संस्थामा गरेको सेवाबाट प्राप्त मेरो अनुभूति र अनुभवले नेपाल वायुसेवा निगम जस्तो अत्यन्तै जोखिमी प्रतिस्पर्धामा होमिएको एक सरकारी संस्थालाई के कसरी नेतृत्व दिने भन्नेबारे मात्र होइन कहिल्यै पनि आफ्नो आदर्शबाट पछि हट्न हुन्न भन्ने मेरो मान्यता रहि आयो। यस्को अलावा निगममा कार्यसम्पादन गर्दाको प्रत्येक क्षण मैले रमाइलो, सृजनात्मक र रचनात्मक ढंगले विताएको मैले अनुभव गरेको छु। यसको लागि पनि म सम्पुर्ण कर्मचारी साथीहरुप्रति हृदयतस् आभारी र कृतज्ञ छु। साथै आजको यस क्षणमा निगमलाई अझ सशक्तिकरण गर्दै एक अन्तर्राष्ट्रिय स्तरको उचाईमा पुर्याउने कार्यको सिलसिलामा आउँदो दिनहरुमा तपाईंहरुले खेल्ने भुमिकामा मेरो संधै सहयोग र समर्थन रहने यहाँहरु सबैलाई आश्वस्त पार्न चाहन्छु।

सुगत रत्न कंसाकार
महाप्रबन्धक, नेपाल वायुसेवा निगम

प्रतिक्रिया दिनुहोस्