Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

एउटा भोगाई : जिन्दगिको…..



मदन अधिकारी

जिवनमा मैले भोगेको यो एउटा तितो सत्य जसलाई मैले यति छिटै व्यक्त गरिहाल्ने सोचाई राखेको थिइन । केही दिन अघिमात्र शहरी बिकास तथा भौतिक योजना मन्त्रालयका सचिव अर्जुन कार्कीले यस्तै प्रकृति को घटना, जो वाहा माथि घटेको छ , त्यसको सत्य तथ्य बहिर ल्याउनु भयेको छ , जस्लाई मैले फेसबुकमा पढ़े अनी मलाई लाग्यो मैले पनि आफै माथि घटेको यो घटनाको सबिस्तार सार्वजनिकिकरण गरौ ।
म पेशाले निर्माण व्यवसायी जस्लाई अन्य पेशाकाहरू ” ठेकेदार” भन्न रूचाउछन वा सजिलो ठान्छन । महेन्द्र मोरड़ कलेजबाट बि ए गरिसके पछि ०४२ साल तिर यतिकै यो पेशातिर लागे । जिवनमा कहिल्यै दारू पानि न खाने मैले यहि पेशामा लागे पछि त्यो सिके र जुनसुकै बेला पिईदिने सम्मको अम्मलि भये । घुस के हो भन्ने पनि जाने र बेहिसाब घुस खुवाए पनि । यध्यप्पी त्यों मेरो रहर थियो वा बाध्यता , त्यसको सम़िक्षाको पाटो छुट्टै हुनसक्छ । “घ” वर्ग को कंपनी दर्ता गरेर शुरू गरेको यो पेशामा मैले आफ्नो कंपनी “क” वर्गसम्म पुर्याए । देशमा शुरू भयेको आन्तरिक राजनैतिक बिद्रोहको नकारात्मक असर यो पेशामा पनि पर्यो । अधिकासं निर्माण व्यवसायीहरू जस्तै म पनि बैड़्क लोन र साहु कर्जाबाट आफ्नो कंपनी चलाई रहेको थिए । जब देशमा शान्ति संझौता भयो त्यसपछि निर्माण व्यवसायमा केही अवसरहरू सृजना भये । कर्जाबाट मुक्तहुन केही निर्माणकार्यहरू लिनै पर्ने मेरो बाध्यता थियो र मैले बिभिन्न ठाऊमा बाटो , पुल , भवन निर्माण गरि एक अरब जतिको काम लिए । म हरेक दिन विहान चार बजे उठेर काममा जुट्थे र राति दश बजे सम्म खट्थे । यस्तै प्रकारले दिनहरू व्यस्ततामा बितिरहेका थिए ।


०६८ साल पौष महिनाको एक दिन मेरा एक जना मित्र ,मेरो निर्माण व्यवसायका गूरू राम प्रसाद मैनालीले मलाई खबर गर्नु भो र भन्नु भो की ” अख्तियार दुरूपयोग अनुसन्धान आयोग नक्सालले मलाई खोजीरहेछ ” । यो सुनेर आफैसंग प्रश्न गरे ” किन खोजेको होला ? ” जे भएनि एउटा त्यति ठूलो संबैधानिक निकायले खोजी गर्दैछ भन्ने सुनेपछि जानै पर्छ भन्ने ठानेर म भोलिपल्ट अख्तियारको कार्यालय गये यधप्पी मलाई कुनै पत्र काटिएको थिएन । त्यहा पुगेर थाह भो मलाई खोजी गर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत गोबिन्द बहादुर श्रेष्ठ रहेछन । मैले उनलाई भने ” म मदन अधिकारी यहा मेरो खोजी भैराखेको छ रे किन होला ” ।

उनले एउटा खाली कुर्सीतिर ईसारा गरे र बस्न भने । दराजबाट एउटा ठूलो फाएल निकालेर भने ” तपाईले सुर्खेतमा सिचाईको टेण्डर हाल्नु भयेको रहेछ त्येही बारेमा बुझ्न बोलाको ” । मैले भने त्यहा त मैले कुनै टेण्डर हालेकै छैन । मेरो कुरा सुनेर उनी गम्भिर भये र फयलमा हेर्दै फेरी सोधे सुर्खेत भवन डिभिजन अन्तरगतको स्वस्थ चौकी भवन निर्माण कार्य र मध्य पहाडि सड़क आयोजना तुलसीपुर दाड़ अन्तर्गतको जाजरकोट सडक निर्माणको काम चाही तपाईले लिएको हो ? मैले जवाफ दिये कुनै पनि होईन । त्यसपछि उनले फयलबाट कंपनी प्रोफयल निकालेर सोधे यो मैनाचुली निर्माण सेवा प्रा ली कस्को हो र यी कागजातहरू कस्का हुन ? मैले त्यों कंपनी प्रोफयल हेरे ।

फोटो कपिबाट फोटोकपि गरिएका मधुरा ती कागजातहरू मेरै कंपनीका थिए र मैले भने ” यी कागजातहरू मेरै कंपनीका हुन तर मैले वा मेरो कंपनीका कुनै संचालक वा कर्मचारीले पेश गरेका होईनन ।” उनले सोधे ” राजविन्द्र प्रताप सपकोटा भन्ने मान्छे चिन्नु हुन्छ ? म चिन्दिन मैले भने।
बास्तवमा त्यों मान्छेको नाम नै म जीवनमा पहिलो पटक सुन्दै थिए । उस्ले पनि मलाई नचिनेको कुरा कसरी पुष्टि हुन्छ भने उस्ले जे भी एग्रीमेण्टमा मेरो नाम मदन अधिकारी लेख्नु पर्नेमा चन्द्र बहादुर छेत्री लेखेर स्ही गरेको छ । भयेको के रहेछ भने राजविन्द् प्रताप सपकोटाले मेरो कंपनी प्रोफयल कुन स्रोतबाट फेला पार्यो ? उसैलाई थाहा छ । मेरो अनुमानमा मैले कुनै चिनेको साथिलाई जे भी दिदा यस्को दुरूपयोग भयेको हुनु पर्दछ । जे भये नि उस्ले मेरो कंपनी प्रोफयल फेला पार्यो र आफ्नो ” घ” बर्गको फर्मसंग जे भी गरेर टेण्डर बिड गर्न थाल्यो । त्यसबेला सम्म उस्ले आफ्नो फर्मका इजाजत देखि बाहेक कर चुक्ता समेत किर्ते गरेर टेण्डर डकुमेण्ट पेश गरि सुर्खेत भवन डिभिजनमा एउटा लगभग सठसठ्ठी लाखको र अर्को लगभग एक करोड चवालिस लाखको त्यस्तै मध्य पहाड़ी सड़क कार्यालय दाड़बाट जाजरकोटमा सतासी लाखको कटिड़को काम ठेक्का संझौता गरि काम गरिरहेको रहेछ ।

यस्तै अवस्थामा जिल्ला सिचाई सुर्खेतले आह्वान गरेको बोलपत्रमा मुन्द्रे केटाहरूले टेण्डर बिड गर्न नदियेपछि हुलाकबाट टेण्डर बिड गरेछ र त्यस्मा पनि मेरै कंपनी जे भी गरेको रहेछ । तर मुन्द्रेहरूले उस्लाई बोलपत्र फिर्ता गर्न लगाएछन । अनि उस्ले टेण्डरमा धाधली भो भनेर अख्तियारमा आफैले बेनामे उजुरी दिएको रहेछ । म भन्दा पहिलेनै उस्लाई बोलाएर अख्तियारले लिखित बयान लिईसकेको रहेछ र बयान को क्रममा कहाँ कहाँ कुन कुन कति कतिको काम छ सबै बताई सकेको रहेछ । यति हुदासम्म पनि उस्ले मलाई कुनै जानकारी नदिनु मेरा लागि अचम्मको बिषय भयेको छ । यति जानकारी मलाई त्यहि अख्तियार बाट प्राप्त भो । त्यसपछि मैले तिनै गोबिन्द श्रेष्ठलाई राजविन्द्रलाई फोन गरेर बोलाई दिन अनुरोध गरे र उनले बोलाई पनि दिए । त्यसको तीन दिन पछि उ अख्तियार आईपुग्ने भो ।

राजबिन्द्र आईपुग्ने दिन म दश बजे नै अख्तियारको कार्यालय पुगे । एक डेढ़ धण्टा पछि उ आईपुग्यो । भर्खरको ठिटो रहेछ । मैले उस्लाई अलि कडकेर हकारे ” किन यस्तो फट्याई गरिस ” ? उस्ले लगभग कामेको स्वरमा भन्यो ” हजुर मैले गल्ति गरे म साचो सत्य बयान दिन्छु हजुरलाई म कुनै अप्ठेरो पर्न दिन्न मलाई भाई संझेर माफ दिनुहोस ” । त्यसपछि मैले उस्लाई कुनै गालि गरिन । साच्चै भन्ने हो भने त्यो बेला मैले एक जना चिनीया लेखकको ” किशोर अवस्थाका कूकर्मीहरूलाई बचाऊ ” भन्ने पुस्तकमा लेखेको कुरालाई संझे ।
त्यसपछि फेरी उस्को बयानको क्रम शुरू भयो । उस्ले सबै किर्ते आफैले गरेको स्वीकार गर्दै साचो सत्य बयान दियो । उस्को बयान सकिएपछि मैले आफ्नो लिखित बयान दिए र यो सब बिषयमा आफू र आफ्नो कंपनीसंग संबन्धित कसैको पनि संलग्नता नभयेको साचो सत्य उल्लेख गरे । त्यसको भोलिपल्ट पनि म अख्तियार गये र गोबिन्द बहादुरलाई भेटे र भने कि ” म पूर्वको मान्छे , मेरो साईटहरू पनि धेरै छन म भनेको बेला तुरून्त हाजिर हुन नसकुला र अब मेरो यहां के काम बाकी रह्यो ” ? उनले भने “तपाईको त्यस्तो जरूरी नहोला । पर्यो भने मोबाइल नम्बर छदै छ म फोन गरूला, ।सापकोटा चाहि फस्ने भो । तपाई आफ्नो काममा गये हुन्छ ” । त्यसपछि म उसंग बिदा मागेर हिडे ।
ठेक्का बिड गर्न नदिएको बिषयको अनुसन्धानको केशले अब अर्कै मोड़ लियो ।

त्यसै बर्षको कार्तिक महिना देखि अर्थात बाग्लुड़ जिल्लामा पर्ने मध्यपहाड़ि सड़क अन्तर्गतको साइट भिजिट गरेर आए देखि नै मेरो शरिरलाई सञ्चो थिएन र शरिरमा हल्का ज्वरोको अनुभूति भैरहन्थ्यो । तर काम को चाप र आफ्नो बेपर्वाहापन ले गर्दा मैले आराम गरेको थिईन । ठिक यसैबेला मलाई ज्वरोले थला पार्यो । श्वास प्रश्वासमा समस्या देखा पर्यो र थाहा भयो की मेरो लिभरमा गम्भिर समस्या छ । त्यसपछि मलाई मेरो दाजु/पार्टनर छत्र प्रसाद अधिकारिले उपचारका लागि तुरून्त दिल्लि लिएर जानु भो। दिल्लिमा अपोलो हस्पिटलमा लिभरको उपचार पछि स्वथ्यमा सुधार भयो र म काठमाण्डौ फर्किए । तर डाक्टरको सल्लाह अनुसार मैले तनाव रहित भयेर आराम गर्नु पर्ने भयो जुन मेरो अवस्थाले संभव थिएन । तै पनि केही उपायहरू अवलम्बन गर्ने निधो गरे र आवश्यक मान्छेहरूसंग मात्र संम्पर्क होस भन्ने हेतुले मोवाईल नम्बर परिवर्तन गरे । मेरो बिरामीको असर मेरा निर्माण कार्यहरूमा पर्न नदिन मैले प्रयत्न गरिरहे । यसै बीचमा म एक पटक अख्तियारको मुद्दाको बिषयमा जानकारी लिने उदेश्यले अख्तियारको कार्यालय नक्साल पुगे । अख्तियारको कार्यालय को सिढी उक्लिन मलाई निकै सकस पर्यो । मुश्किलले गोबिन्द श्रेष्ठको कोठामा पुगे तर मेरै दुर्भाग्य भनौ उनी त्यों दिन अनुपस्थित रहेछन । त्यों समयमा अख्तियारमा अरू आयूक्तहरूको बहाली भयेको थिएन । तिनै गोबिन्द सर्वे सर्वा थिए । त्यस पछि मैले राजबिन्द्र सापकोटालाई फोन संम्पर्क गरे र मुद्दाको बिषयमा सोधे । उनले भने ” मैले सबै कुरा मिलाएँ दाई , बीस लाख खर्च भयो , त्यों पनि दिईसके, गोबिन्दले चाडै काम सक्नु त्यसो भो भने मुद्दा ढिसमिस गर्न सजिलो हुन्छ भनेको छ ” भने । मैले सोचे घुसै लिईसकेपछि मुद्दा टुड़गिन्छ। नटुड़गिए पनि मैले बिगारेको केही छैन । त्यसपछि असारको पहिलो हप्तातिर म झापातिर लागे । मेरा सबै साईटहरू तेतैतिर थिए ।

बिल पेश भयेका साईटहरूको भुक्तानी लिएर तिर्नु पर्ने तिरोभरो गरेर म काठमाण्डौ फर्कने तरखरमा थिए । त्यसै बेला श्रावणको चौध गते जस्तो लाग्दछ, मलाई दमक ठानाबाट फोन आयो र एकछिन ठानामा आऊनु न दाई ईन्पेक्टरसाबले बोलाउनू भाको छ भनेर एक जना प्रहरी भाईले भन्यो । किन रहेछ भनेर म ठाना गये । ठाना पुगे पछि थाहा भो मलाई त अख्तियारबाट तिनै गोबिन्द बहादुर स्रेष्ठले जिल्ला प्रशासन कार्यालय झापालाई दमक न पा दश बस्ने मदन अधिकारीलाई पक्राऊ गरि अड्डासार गर्दै अख्तियारको केन्द्रिय कार्यालयमा हाजिर गराउनु भनेर आदेश गरेको रहेछ । तर ईन्सपेक्टरले सल्लाह दिए ” दाई जस्तो मान्छेलाई किन त्यसो गर्नु बरू आजै काठमाण्डौ गयेर आफै हाजिर भैदिनु भो भने राम्रो हुन्छ ” । मलाई ईन्सपेक्टरको कुरा ठिक लाग्यो र हुन्छ त्यसै गर्दछु भनेर म ठानाबाट निस्के । ठानाको गेटबाट बाहिर के निस्केको थिए काठमाण्डौबाट एउटा भाईले फोन गरेर भन्यो “दाई तपाईलाई अखातियारले भ्रष्टाचार को केशमा बिशष अदालतमा मुद्दा हालेछ ।आज को नागरिकमा समाचार छ ” भनेर जानकारी दियो । एक छिन त मलाई बिश्वास गर्नै मुश्किल भो तर भाईले दोह्रोयाएर तेही कुरा भनेपछि नपत्याई धरै थिएन ।

म घरमा आए । भाईलाई संछिप्त जानकारी गराए । बुवा आमा र श्रीमतिलाई आफ्नो कुनै गल्ति नभयेको र आफूलाई केही नहुने ढाडस दिलाए र तुरून्त काठमाण्डौ हिडे । बाटोमा मनमा धेरै तरड़्गहरू सामुन्द्रि छाल झै उर्लीरहे । देशको एउटा प्रमुख राष्ट्रिय दैनिकमा आफ्नो नाम भ्रष्टचारीको रूपमा उल्लेख भयेको थियो जस्लाई मैले निकै असहज महशुष गरिरहेको थिए । एकातिर पेशाले ठेकेदार , घुस नदिई कुनै काम नहुने पेशा, अर्कोतिर भ्रष्टचारिको आरोप । , मान्छेहरूलाई पत्याईदिन सजिलो थियो । र म त्यसै दिन देखि मानसिक रूपमा चरम आत्मग्लानी र लघुताभाषले पिडित हुन थाले । मेरो शारिरिक अवस्था रातारात हिड्ने खालको थिएन तर मैले नहिडी हुदैनथ्यो । म भोलीपल्ट सिधै अख्तियारको कार्यालय नक्साल गये र गोबिन्द बहादुरको टेबलमा पुगे । मलाई असाध्य रिस उठेको थियो उ संग र अली चर्को बोलिमा सोधे ” तपाईले मलाई किन मुद्दा हाल्नु भो ? मेरो गल्ति कहा छ ? बीस बीस लाख रूपैया घुस पनि लिने अनि मुद्दा पनि हाल्ने ” ? आदि इत्यादि । उस्लाई मेरो चर्को बोलिले किञ्चित फरक पारेन बरू शानसंग भन्यो “मैले एक पैसा पनि पाएको छैन त्यही पैसा दिनु पर्छ भनेर तपाई मोबाइल स्वीच अफ गरेर बस्नु भो , मैले निकै पटक फोन गरे , सम्पर्क नभयेपछि मुद्दा हालिदिए ।तपाई जतिको मान्छेले भेटेर कुरा मिलाउन जानेको छैन ” । मैले बल्ल बुझे उस्ले मसंग केही रकमको अपेक्षा राखेको कुरा । मलाई लाग्यो अब उसंग त्यहा तर्क गर्नुको कुनै औचित्य छैन, र म , आफू , आफ्नो देशको यो बेथितिलाई धिकार्दै निन्याउरो मुख लगाएर त्यहाबाट निस्के ।

अदालतको सामना मेरो जीवनको पहिलो घटना थियो । यो मेरो भोगाईलाई अहिले यहां अभिव्यक्त गरिरहदा मेरो मनमा एकप्रकारको त्रासले गतिलो गरि मलाई अठ्याएको छ । भोगाईको यथार्थतालाई दुरूस्त ब्यक्त गर्दा म माथि आईपर्न सक्ने संभावित संकटको परिकल्पनाले म भयभित छु । संकट आईलागे पछि साथदिने महाभारतका कर्ण जस्ता मित्रहरू यो कलियुगमा छदैछैनन । नितान्त ब्यक्तिगत र उपभोक्ताबादमा लिप्त यो समय कति स्वार्थी र संवेदनाहीन छ भन्ने कुरा त म आफैले समयका हरेक पलमा भोगिरहेछु । त्यसैले मैले यस घटनालाई औपन्यसिक रूपमा अभिव्यक्त गर्न पनि चाहे तर त्यों आफैलाई बनावटी र सत्यको तोडमरोड भये झै लाग्यो अनि म घटनाको सविस्तार बिवरण लेख्ने निधोमा पुगे ।

अ म भन्दै थिए अदालती प्रकृयाको म पहिलो पल्ट सामना गर्दै थिए भनेर । सब भन्दा पहिले मैले कुनै वकिलको बन्दोबस्त गर्नु थियो । लामा कन्सट्रक्सन कंपनीका पिताम्बर बडु मार्फत वकिलको बन्दोबस्त भयो । वाहाले बादीपक्षको मिसिल हेरेर प्रतिबादि तैयार गर्न थाल्नु भो । त्यों बेलासम्म पनि मलाई मुद्दा यति पेचिलो हुन्छ भन्ने थाह थिएन र मैले सजिलै उन्मुक्ति पाऊछु भन्ने कुरामा म ढुक्क थिए । यस्को एउटै कारण थियो कि ती सबै ठेक्का लिनेकुरामा मेरो कुनै संलग्नता थिएन जुन कुरा राजविन्द्र सापकोटाले अख्तियारमा दिएको आफ्नो लिखित बयानमा समेत उल्लेख गरेको थियो । तर जब मेरा वकिलले मलाई भन्नु भो की तपाईमाथि अख्तियारको आफ्नो हस्ताक्षर र कंपनीका कागजातहरूको दुरूपयोग हुदा समेत कतै ऊजुर बाजुर नगरी चुपचाप बसेकोले भ्रष्टचारमा मिलिभगत देखिएको आरोप लगाएको छ । अनी मलाई थाहा भयो – यस्तो केशमा छ महिना भित्र जिल्ला अदालतमा ऊजुरी दिनु पर्ने कानूनी ब्यवस्था छ र जस्तोसुकै लाटो भये पनि देशको कानुन थाहा छैन भन्न नपाईने कुरा । अख्तियारमा बयान दिए पछि देखीनै मैले यस कुराको चर्चा आफ्ना साथिभाईसंग नगरेको भने होईन तर शायद थाहा नभयेरै हुनुपर्छ, कसैले पनि यस्तो कानुनी प्रावधान को कुरा गर्नु भयेन । मैले यो सोचेको थिए की अख्तियार जस्तो एउटा अधिकार सम्पन्न संबैधानिक निकायमा लिखित जानकारी दिए पछि आफ्नो जिम्मेवारी सकियो ।

त्यसपछि मलाई मेरा वकिलले भने , सबभन्दा पहिले थुनछेकको बहस हुने कुरा बताए ।अर्थात थुनामा राखेर मुद्दा चलाउने वा तारेखमा राखेर ? र निर्णय जे पनि हुनसक्ने, र यो अदालतको तजबिजी अधिकार भयेको बताए पछि मेरो निधारबाट पसिना छुटे । हुनसक्छ मलाई थुनामा राखेर मुद्दा चलाईयोस । बेकसुर भ्रष्टाचारीको मुद्दा आईलाग्ने यो मुलुकमा थुनामा राखेर मुद्दा चलाईनु मलाई असम्भव लागेन र थुनामा बसेर मुद्दा खेप्नु पर्दा मलाई हुनसक्ने आर्थिक, मानसिक, शरिरिक सबै कुराको मैले लेखा जोखा गरे र के निष्कर्षमा पुगे भने त्यो अवस्थामा बरू मैले आत्महत्या गर्नु उचित हुनेछ ।
मैले महशुष गरे की म निकै ठूलो भुमरीमा फंसे जहाबाट सकुशल निस्कन मलाई खुबै मुश्किल हुनेछ ।

मलाई मेरा वकिलले थुनामा बस्न नपर्ने उपाय सुझाए र मैले त्यसलाई सह्रर्ष स्वीकारे । त्यों उपायको बारेमा म यहां केही उल्लेख गर्न चहान्न बस यति भन्छु कुनैबेला देशको कानुन भन्दा माथि रहेको राजसंस्था हटेर गये पनि यो देशमा एउटा त्यस्तो संस्था जीवित छ जो कानुन भन्दा माथि छ । थुनामा बस्न नपर्ने भये पछि मलाई पुनर्जीवन प्राप्त गरे झै अनुभूति भयो र आड़टावा शेर्पा जी ले एकपटक भनेको कुरा संझे की “अरूहरू घुस लिए पछि खुसि हुन्छन तर हामि ठेकेदारहरू भने घुस दिए पछि खुसि हुन्छौ “। त्यसबेला शायद मलाई पनि त्यस्तै केही भयो ।
मैले थुनामा नबसी मुद्दा लड्न पाउने भये । यही केशमा परेका शहरी बिकास तथा भवन डिभिजनका डि ई लगायत बोलपत्र मुल्याड़कन समितिमा भयेका कर्मचारीहरू , मध्यपहाडी सडक आयोजना दाड़का योजना प्रमुख लगायत बोलपत्र मुल्याड़कन समितिका कर्मचारीहरू , राजविन्द्र सापकोट लगायत अठार जना सबैले तारेखमा बसेर मुद्दा लडन पाईने भयो ।

मुद्धाका तगाराहरू पनि एउटा मात्र भये पो छिचोलेर सक्नु । माओवादी नेता जनार्दन शर्माले पाल्पा आक्रमणको अगाडि आफ्ना सेनाहरूलाई निर्देशन दिदै गरेको भिडियो रेकर्ड हेरेको थिए र त्यहा उनले युद्धमा आउने अप्ठेराहरूलाई ब्यख्या गर्दै भनेका थिए ” एउटा पहाड़ पछि फेरी अर्को पहाड़ आउछ र त्यसलाई फोरे पछि फेरी अर्को पहाड़ आउछ । यसरी सबै पहाड़ फोरे पछि मात्र बीजय हात लाग्दछ ” । मेरो अगाडि पनि फेरी अर्को अजंगको पहाड़ ठिड़्ग उभिन आईपुग्यो । त्यों थियो धरौटिको पहाड़ । मैले वकिल सावलाई धरौटि कति राख्नु पर्छ भनेर सोधे । त्यों पनि न्यायधिषको तजबिजी कुरा रहेछ । उनले भने ” लगभग दशकरोड जति माग्न सक्छन र धरौटी माँग गर्दा मुद्दा खेपिरहेकाहरू मध्येबाट जस्ले तिर्न सक्छ त्यसैसंग बढि माँग गर्ने प्रचलन छ । तपाई ठेकेदार भयेकोले तपाईसंग बढि माँग गर्ने संभावना छ ” । मैले आफूले आफैलाई धिक्कारे कुन दिनमा यो पेशा अगाल्न पुगेछु भनेर ।

आफू कति कर्जामा डुबेको छु भन्ने कुरा आफैलाई थाहा थियो । धरैटि दिन नसके फेरी जेल बस्न पर्ने कुरा मेरा वकिलले मलाई जानकारी गराए । म संग दश करोड धरौटि दिनसक्ने औकात थिएन । र फेरी मैले वकिल सावलाई धरौटि राख्न नपर्ने उपाय खोज्न अनुरोध गरे । वकिलसावले उपाय निकालीदिनु भो ।
थुनछेकको बहस भयो – जेलमा बस्नु परेन र धरौटि पनि राख्न परेन तर अर्को समस्या आईलाग्यो फेरी । भ्रष्टाचार को मुद्दामा वारेस राख्न नपाईने रहेछ । पन्ध्र पन्ध्र दिनको तारेख अनि आफै उपस्थित हुनै पर्ने बाध्यता । बितेको बर्ष आफू बिरामी परेको कारणले सबै साईटको प्रगति सन्तोषजनक थिएन र यो बर्ष पनि म आफूले साईटमा ध्यान दिन नसक्ने कुरा निश्चित जस्तै भयो । अब म संग आफ्ना स्टाफको भर गर्नु बाहेक अर्को बिकल्प पनि रहेन ।

बास्तवमा मैनाचुली निर्माण सेवा प्रा ली नामको हाम्रो कंपनीमा त्यसबेला अध्यक्ष तथा मेनेजिड़ डायरेक्टर छत्र प्रसाद अधिकारी हुनुहुन्थ्यो र चण्ड़ी प्रसाद पराजुली ( छत्रदाईको सम्धि) दोस्रो तहको डाईरेक्टर हुनुहुन्थ्यो । त्यों बेला कंपनीमा मेरो थोरै मात्र ( छ सय कित्ता ) शेयर थियो । यदि मैले चाहेको भये शुरूदेखि नै यो मुद्दाको जिम्मेवारी कंपनी को प्रमुखको हैसियतले छत्रदाईको थाप्लोमा हालेर पन्छिन सक्थे तर वाहसंग दुई दशक लामो साझेदारीमा हामी बीचको संम्बन्ध पार्टनर भन्दा बढ़ता दाजु भाईको रूपमा बिकसित भयेको थियो र मैले यो सबै झञ्नझट आफ्नो थाप्लोमा लिए । त्यसबेला हामी एउटै कंपनीमा भये पनि निर्माण कार्य भने अलग अलग गर्दथ्यौ नाफा घाटा आ आफ्नो कामको आ आफैले ब्योहोर्ने गरि ।

अब तारिख धाउने काम शुरू भयो । त्यों बेला म पूर्णरूपले स्वस्थ भैसकेको थिईन । नियमित रूपले डाक्टरको संम्पर्कमा थिए । हरेक पटक डाक्टरको सल्लाह तनाव रहित रहनु भन्ने हुन्थ्यो तर आफ्नो परिस्थिति त्यस अनुकुल थिएन । परिस्थितिले मलाई क्रमशः आफ्नो स्वस्थ, मुद्दा अनि निर्माण कार्य , यसरी प्राथमिकिकरण गर्न बाध्य तुल्याएको थियो ।

करिव छ महिनाको अदालतको तारेख खेप्ने काम पछि मुद्दाको फैसला सुनाउने समय पनि नजिकै आयो । फैसला के होला भन्ने कौतुहलताले बेस्सरी चिथोर्न थाल्यो । तर वकिलसावले फैसला आफ्नै पक्षमा हुने विश्वास दिलाउनु भो र मैले वाहाको विश्वासमा आफ्नो लालमोहर ठोकिदिए । नभन्दै वाहाले भने जस्तै फैसला हाम्रै पक्षमा भयो । राजविन्द्र सापकोट लगायत हामि सबैले सफाई पायौ । जे भये नि न्यायलयले न्याय दियो भन्ने लाग्यो । तर यो न्याय पाउदासम्म मेरो थाप्लोमा लगभग पचासी लाख साहु कर्जा थपिईसकेको थियो । तै पनि यो एउटा अनाहकमा आईलागेको झमेलाबाट उन्मुक्ति त पाए भनेर चित्त बुझाए । त्यसको भोलि या पर्सी पल्ट बिशेष अदालतको फैसलाको प्रतिलिपि संलग्न राखेर आफूले मुद्दाबाट सफाई पाएको लिखित जानकारि सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा दर्ता गराए ।
मुद्दाबाट सफाई पाए पछि मलाई घोर निन्द्राबाट बिऊझिए झै लाग्यो । सबै साईटहरू मष्तिष्कमा छटपटाऊन थाले ।

र म करिब सात महिना पछि काठमाण्डौ बाहिर निस्के यध्यप्पि म मा शारिरिक दुर्वलाता भने छदै थियो । सबै साईटहरूमा निर्माण कार्य लगभग शून्य थियो र मसंग काममा लगानी गर्ने रकम पनि थिएन । सरसापटबाट केही रकमको जोहो गर्दै काम शुरू गराए । त्यों समय पौष महिनाको अन्ततिरको थियो र लगभग बीस बर्षको मेरो बैड़्किड़ कारोवारमा पहिलो पटक मैले समयमा बैड़्क ब्याज बुझाउन सकिन । माघ महिनाको मध्यतिर सबै साईटमा काम शुरू भयो र म आफ्नो स्वस्थ जांचका लागि केही दिनका निमित्त दिल्लितिर लागे । दिल्लिबाट म सिधै काठमाण्डौ आए । भयेका कामहरू सम्पन्न गर्न मैले बैड़्क लोन नथपि अर्को उपाय थिएन र मैले बाणिज्य बैड़्कमा लोनको लागि फायल पेश गरेको थिए । फाल्गुनको बाह्र गते मेरो फायल बोर्ड़ले सदर गर्यो तर सदर भयेको शाखालाई जानुपर्ने पत्र तैयार हुन बाकी थियो । फागूनको चौध गतेका दिन फेरी म माथि अर्को कल्पना नै नगरेको संकट आईलाग्यो । त्यस दिनको गोरखापत्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयले मेरो कंपनी मैनाचुली निर्माण सेवालाई एक बर्षका निमित्त कालोसूचिमा राखिएको सूचना प्रकाशित गर्यो । यो थाह पाएर मलाई आफैप्रति दया लागेर आयो, र मन मनै आफैले आफैलाई सान्तन्वा दिदै भने की ईश्वरको रोहवरमा यो तेरो सहासको परिक्षणको घडि हो , धैर्य गर ।

त्यसपछि म तुरून्तै सार्वजनिक खरिद अनुगमनको कार्यालय पुगे र त्यहाका सरकारी वकिललाई भेटे । उनलाई मैले कालोसूचिमा राख्नु पर्नाको कारण सोधे । शुरूमा त उनी के जवाफ दिने भनेर अनकनाए र केहि क्षण पछि नम्र भयेर उल्टै मलाई सोधे ” तपाईको अख्तियारमा राम्रो संम्बन्ध छैन कि के हो ? मैले सोधे किन ? उनको भनाई अनुसार अख्तियारबाट गोबिन्द श्रेष्ठले बार बार मेरो कंपनिलाई कालोसूचिमा राख्ने आदेश दिएको र अन्यथा उनैलाई मुद्दा लगाईदिने धम्कि दिएकोले बाध्य भयेर कालोसूचिमा रख्नुपरेको कारण उनले बताए । त्यस पछि म आफ्नो वकिललाई भेट्न र यस बारेमा कानुनी सल्लाह लिन वकिलको अफिसतिर हानिए । वकिलको सल्लाह अनुसार स्टे अर्डरका लागि पुनरावेदन अदालत जानु पर्ने भयो । मैले वकिललाई सो कामका लागि चाडै तैयारी गरिदिन अनुरोध गरे र वाहासंग बिदा भये ।
पुनरावेदन अदालत पाटनमा स्टे अर्डरका लागि फिरादपत्र दर्ता गरियो । सात दिन पछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सरकारी वकिल मेरो तर्फका वकिल र सरकारी वकिललाई स्टे अर्डर गर्न पर्ने वा नपर्ने भन्ने बिषयमा बहस गर्न आदेश भयो । सातौ दिनका दिन बहस शुरूहुनासाथ सरकारी वकिलले थोरै के बोलेका थिए न्यायधिसले त आदेश गरिहाले कि स्टे अर्डर हुन सक्दैन भनेर । मेरो तर्फका वकिलले आफ्नो कुरा राख्न खोजेका मात्र थिए न्यायधिसले सुन्न ठाडै ईन्कार गरिदिए । ठिक त्यसैबेला मैले मेरो तर्फबाट बहस गर्न राखेका बरिष्ठ अधिवक्ता शम्भु थापा आईपुग्नु भो र वाहाले न्यायाधिषलाई भन्नु भो ” श्रीमान न्यायलयले पिडितको कुरा सुन्नु पर्छ, एउटा ब्यक्तिलाई दोहोरो सजाय र त्यों पनि अदालतले सफाई दिईसकेको मुद्दामा , गर्न पाईदैन ” भनेर आफ्नो तर्क राखे पछि बल्ल न्यायधिसले शभ्भु थापालाई आफ्ना भनाई राख्ने मौका दिए । शम्भु थापाको भनाई सकिए पछि स्टे अर्डर जारी भयो तर त्यों सात दिन सम्मका लागि मात्र ।

फेरी सातौ दिनका दिन स्टे अर्डरलाई निरन्तरता दिन पर्ने वा नपर्ने भन्ने बिषयमा बहस हुने भयो । यदि स्टे अर्डरले निरन्तरमुद्दाको फ़ैसला नहुन्जेल कालोसूचिमा राख्ने सार्वजनिक खरिद अनुगमनको अादेश कार्यान्वयन नगर्नु नगराउनु भनेर अदालतले आदेश जारि गरिदियो । मैले अलि राहतको सास फेरे।त्यो समय मुलुक डरलाग्दो संक्रमणकालबाट गुज्रिरहेको थियो । पेश भएका रनिड् बिलहरूको भुत्तानि समयमा पाईदैनथ्यो । अत मेरो एउटा आशा के पलायो भने अब राष्ट्रीय बाणिज्य बैड्कमा स्वीकृत भएको मेरो लोन रिलीज़ हुन्छ जस्ले बन्द रहेका मेरा निर्माण कार्यहरू म सुचारू गर्न सक्छु । स्टे अडरको निर्णय बोकेर भोलिपल्ट दश बजे नै म रा बा बैड्क हेड अफिस पुगे । त्यहा पुगे पछि मेरो आशा पानी पानी हुन पुग्यो जब बैड्कले भन्यो कि यो त मुद्दाको फ़ैसला त होईन , र यस्को आधारमा क़र्ज़ा रिलीज़ गर्न मिल्दैन । अब म संग मेरो जिम्मामा रहेका निर्माण कार्यहरूलाई निरन्तरता दिने कुनै उपाय थिएन । यस भन्दा पहिलेनै एभरेष्ट बैड्कमा जम्मा हुन गएको बिलको सम्पूर्ण रकम लोनमा मिलान गरिदिएकोले बजारको बक्यौता तिर्ने त कुरै छौडौ मजदुरको ज्याला समेत दिन सक्ने अवस्था रहेन ।

त्यो बेला मेरो मस्तिष्कमा जस्ता भावनाहरू , सोचाईहरू सलबलाउथे , अहिले म सोच्छु , म निकै डिप्रेशनमा गैसकेको रहेछु । अब मलाई नभेटि नहुने मान्छे बाहेक अरू कसैसंग पनि देखादेख नहोस भन्ने लाग्दथ्यो चाहे त्यो जतिसुकै अभिन्न मित्रनै किन नहोस । यसर्थ म पुतलिसडकमा होटल तिरूपतिमा एउटा रूम लिएर एक्लै बस्न थाले जब कि महाराजगंजमा मेरो घर पुरै खालि थियो । त्यो होटलमा मैले तीन महिना भन्दा बढि बिताए । साईटतिर स्टाफहरूलाई जे बिक्रि हुन्छ तेहि बेचेर तिरोभरो गर्न भने । जीवनमा मैले जिम्मा लिएका सबै निर्माण आयोजनाहरू संझौतामा उल्लेख भएको समय अगावै सम्पन्न गर्दै आएको मेरो कंपनि मातहतका सबै आयोजनाहरू अहिले लथालिड्ग अवस्थामा थिए ।अब म अधिकांश समय होटलको रूममा एक्लै बसेर बिताउन थाले । कैयौ पटक ममा आत्महत्या गर्ने भावना प्रवल बनेर आयो । त्यो भावनालाई मेरो पारिवारिक मोहले कहिल्यै पराजित गर्न सकेन । यदि गर्यो भने मेरो तेहि जिद्दि स्वभाव “कि मैले कुनै अक्षम्य अपराध गरेको छैन र मैले यदि आत्महत्या गरे भने अनि चाहि म अरूको नजरमा अपराधि ठहरिन सक्छु ।” यहि सोचाईले मलाई त्यो बेला जिवित राख्यो ।

कुनै दीर्घकालीन लक्ष लिएर म यो पेशामा लागेको थिईन । साच्चै भन्ने हो भने पासाड् गोपर्माको शिफारिसमा तानसेन शर्मा नाम गरेका बत्तिसपुतलिका एक जना मारवाडिको मातहतमा दुई दिन खाएको जागिर उपन्यासकार भरत जंगमको “कालो सूर्य ” उपन्यासको प्रभावमा परेर छोड़े पछि लहै लहैमा ठेकेदार बन्न पुगेको हु म । केहि बर्षहरू अनिच्छा पूर्वक यहि पेशामा बिते । अर्को कुनै मनलाग्दो पेशाको विकल्प मेरो मस्तिष्कमा सुझिरहेको थिएन त्यस बेला । ०४८/०४९ साल तिर बुटवल – भैरहवा सडक खण्डमा हाम्रो कंपनि मैनाचुलि निर्माण सेवा प्रा लि ले सवा करोडको रिसिलिड्गको काम लिएको थियो । त्यो साईटको सम्पूर्ण ज़िम्मेवारी मेरो काधमा आईलाग्यो । जिवनमा म पहिलो पटक कुनै बिदेशी कन्सल्टेण्टको मातहतमा काम गर्दै थिए । Roughton International कन्सल्टेण्ट थियो र दुई जना British हरू कन्सल्टेण्टको तर्फबाट कार्यरत थिए । के कारणले हो उनिहरू मैले गरेको कामबाट सन्तुष्ट थिए र तिनिहरू म संग निकै घुलमिल हुन्थे । यस्तै सिलसिलामा एक दिन मैले आफू यो पेशासंग संन्तुष्ट नभएको र पेशा परिवर्तन गर्ने सोचाईमा रहेको कुरा तिनिहरूलाई भने । उनिहरूले अलि आश्चर्य प्रकट गर्दै मलाई भने कि ” तिनिहरूको मुलुकमा यो पेशालाई निकै ईज्जतका साथ हेरिन्छ र कुनै पनि मुलुकको संमृद्धिको लागि यो पेशाको महत्व निकै माथि छ । जुनसुकै क्षेत्रको भौतिक पुर्वाधार तैयार गर्न पहिले अग्रसर हुने Contractor नै हुन ।” मलाई तिनिहरूको यो पेशा प्रतिको दृष्टिकोण चित्त बुझ्यो । मलाई यो अनुभूति भयो कि वास्तबमा मेरो पेशाले पनि राष्ट्र निर्माणमा योगदान गर्दो रहेछ । त्यसपछि देखि नै हो म यो पेशामा दत्तचित्त भएर लागेको ।

मेरो अधिकांश समय होटल तिरूपतिको कोठामा निरूदेश्य बित्न थाल्यो । दिन बित्यो । फेरि अर्को दिन बित्यो । महिना बित्यो फेरि अर्को महिना बित्यो । एवं रितले तीन महिना भन्दा बढि समय एउटा शताब्दि जस्तो भ्रम दिएर बित्यो । यस्तैमा एक दिन माननिय केशव कुमार बुढाथोकिसंग होटलको केरिडोरमा संयोगबस जम्काभेट भयो । निकै आश्चर्यभाव प्रकट गर्दै वाहाले सोध्नु भो ” हैन तपाई कता हराउनु भो ? के के झमेला आईलाग्यो भन्ने सुने । कुनै संपर्क छैन । के भाको हो ।” अब मलाई ईति बृतान्त नसुनाई कुनै धर थिएन । मेरै कोठामा बसेर मैले सबै बेलि बिस्तार लगाए । ” यत्रो लफड़ा आईलाग्दा अहिले सम्म किन केहि नभनेको “वाहाले सोध्नु भो जस्को कुनै जवाफ म संग थिएन । “अब के गर्दा तपाईलाई अलि राहत हुन्छ त ।” वाहाले सोध्नु भो । मैले भने “अख्तियारको कारण देखाएर बैड्कले मेरो कारोबार रोकेको छ त्यो खुल्यो भने मलाई अलि राहत हुन्छ ” मैले भने । लगभग एक हप्ता अघि लोकमान सिंह कार्कि अख़्तियार प्रमुखमा नियूक्त हुनु भएको थियो र त्यो बेला वाहाको चौतर्फि बिरोध भैरहेको थियो । कुमार दाईले त्यहिबाट प्रमुख आयूक्तलाई फोन गरेर भेटघाटको समय माग्नु भो । भोलिपल्ट शुक्रबारको दिन थियो र दश बजे भेटने समय निश्चित भयो ।

भोलिपल्ट शुक्रवार । म थोरै आशा र धेरै निराशाका बीच दशबजे नै अख़्तियारको बाहिरि गेटमा पुगे । केहि समय पछि नै कुमार दाई पनि आईपुग्नु भो र हामि अख्तियारको सिढि चड्न थाल्यौ । पहिलो तलाको भित्ताले मलाई गजबले गिज्याए जस्तो लाग्यो । जहा बडेमानको तस्वीर झुण्डिएको थियो र मुनि पट्टि लेखिएको थियो “उत्कृष्ट कर्मचारि ” । र त्यो तस्वीर थियो उहि गोबिन्द बहादुर श्रेष्ठको । पारिजातको शिरिषको फूलको पात्र सुयोगवीरलाई चिच्याएर भन्न मन लागे जस्तै की ” जीवन नीस्सार छ , अर्थहीन छ र सब निरर्थक छ ” मलाई पनि जीवनको आफ्नै परिभाषा अझ चर्को स्वरमा दिन मन लाग्यो ” जिवन ब्यड्ग्यपूर्ण छ , जीवनका प्रत्येक प्रतिविम्बहरू ब्यड्ग्यपूर्ण छन र हामि एउटा कुशल वा अकुशल पात्रको रूपमा हरेक पल जीवनको अभिनयमा ब्यस्त छौ र आफै प्रति ब्यड्ग्य गरिरहेछौ ।”

हामि प्रमुख आयूक्त लोकमान सिंह कीर्किको अफिस कोठामा प्रवेश गर्यौ । कुमार दाईं र वाहाको बीचमा राम्रै जानपहिचान भएको कुरा मैले अनुमान गरे । केहि समय वाहाहरूको भलाकुसारि पछि कुमार दाईले भेट्न आउनाको कारण प्रष्ट्यादै भन्नु भो ” यिनि झापाको मान्छे , अत्यन्त ईमान्दार र सोझो छन । हजुरको अफिसले यिनलाई फुटपाथमा पुर्यायो । बाकि कुरा यिनकै मुखबाट हजुरले सुनेर न्याय दिनु परो ।” यति भनेर कुमार दाईले मलाई आफ्नो कुरा राख्न भन्नु भो । यति लामों कहानि सविस्तार भन्न संभव थिएन । अत: मैले सारमा आफ्ना कुरा राखे । मेरो कुरा सुनिसके पछि प्रमुख आयूक्तले मलाई सोध्नु भो ” अब आयोगबाट तपाईले अपेक्षा गरेको कुरा के हो ? ” मैले भने “आर्थिक अभावले मैले आफ्नो निर्माण कार्यलाई सूचारू राख्न सकेको छैन । आख्तियारले कार्यवाहि गर्छ भन्ने डरले बैड्कहरू मलाई लोन दिन मान्दैनन । यसर्थ मेरो कंपनिलाई बैड्कको नियम अनुसार लोन प्रवाह गर्दा आयोगलाई कुनै आपत्ति नरहने आशयको पत्राचार गरिदिए हुनेथियो भन्ने मेरो अपेक्षा हो ।” त्यसपछि प्रमुख आयूक्तले चार बझे आएर पत्र बुझेर लान भन्नु भयो र यो पनि भन्नु भो कि अब आइन्दा यस प्रकारको अनाहकको दु:ख आयोगले कसैलाई पनि दिने छैन ।

चार बजे फेरि म आयोगको कार्यालय नक्साल पुगे । मलाई देख्नासाथ प्रमुख आयूक्तका निजि सचिवले पत्र मेरो हातमा थमाए । म पत्रमा के लेखिएको होला भन्ने कौतुहलताले निकै उत्तेजित भएको थिए । यसर्थ म तुरून्त त्यहाबाट फर्किए। मलाई दिएको बोधार्थ मैले हिड्दा हिड्दै पढे । लेखिएको थियो ” सबै बित्तिय संस्थाहरू ! मैनाचुलि निर्माण सेवा प्रा लि माथिको यस आयोगले बिशेष अदालतमा दर्ता गरेको अभियोगमा सम्मानित अदालतले निजलाई सफाई दिईसकेकोले आफ्नो संस्थाको नियम अनुसार निजसंग जुनसुकै प्रकारको आर्थिक कारोबार गर्दा आयोगलाई कुनै आपत्ति नरहने कुरा जानकारि गराईन्छ ।” लगभग यस्तै आशयको पत्र थियो त्यो । निजि सचिवले थप कुरा यो पनि भने कि यदि बैड्कले कुनै आनाकानि गरे निजि सचिवलाई खबर गर्न र उनले बैड्कलाई फोन गरिदिने कुरा पनि गरे ।त्यो शुक्रबारको दिन थियो ।
आईतबार म दश बजे नै बैड्क पुगे र डि जि एम लाई पत्र थमाए । पत्र पढेर उनले भने ” यति भए पछि तपाईसंग कारोबार गर्न कुनै अप्ठेरो छैन । मैले नवजिवन प्राप्त गरेको अनुभूति गरे र त्यसै दिनबाट मेरो जिवनको दोश्रो अध्याय शुरू भयो जुन आजसम्म घिस्रिरहेछ ।

प्रतिक्रिया दिनुहोस्