बौद्ध विवादको विषयमा छलफल शुरुः वार्ताबाटै निकास खोज्नुपर्नेमा जोड(फलो अप )



बौद्धको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रारम्भिक छलफल भएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको रोहभरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठी र आन्दोलनमा रहेको क्षेत्र विकास समिति तथा तामाङ कल्याण गुठीको बिच छलफल भएको हो । छलफलमा विवाद छानबिन समितिका संयोजक भूमि सुधार मन्त्रालयका उपसचिव नीरज पौडेल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक, गुठी संस्थानको प्रतिनिधि लगायको उपस्थिति रहेको थियो । वार्तामा बौद्ध मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामा धर्मगुरु भूपति बज्र लामाले कानुन अनुसार निष्पक्ष छानबिनको लागि आग्रह गरे । क्षेत्र विकास समितिले घ्याङ गुठीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दा समस्या भएकाले कानुन अनुसार गुठीको क्षेत्रधरि सुरक्षित हुन्न पर्ने धर्म गुरुको आग्रह थियो । गुठीको जग्गा अतिक्रमण रोक्न खोज्दा र अवैध पैसा उठाउन रोक लगान खोज्दा तामाङ कल्याण गुठीका केही व्यक्तिले भ्रम छर्न बौद्धमा आन्दोलन गरेको धर्म गुरुको भनाई थियो ।

क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले पनि वार्ताबाटै निकास खोज्नु पर्ने धारण राखेका थिए । छलफलमा क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीका प्रतिनिधिले घ्याङगुठीका प्रतिनिधिलाई बोल्न नदिएपछि प्रमुख जिल्ला अधिकारी आचार्यले लोकतान्त्रिक मर्यादा अनुरूपको व्यवहार गर्न आग्रह गर्दै वार्तामा समेत बोल्न नदिने शैली गलत भएको भन्दै क्षेत्र विकास र तामाङ कल्याण गुठीका प्रतिनिधिलाई सचेत गराएका थिए । प्रमुख जिल्ला अधिकारी आचार्यले आन्दोलित पक्षले तत्काल आन्दोलन स्थगित गरी वार्ताबाटै समस्या समाधान गर्न आग्रह गरे । आन्दोलनका नाममा कानुन विपरीतका अबाञ्छित गतिविधि नगर्न पनि आन्दोलित पक्षलाई प्रमुख जिल्ला अधिकारी आचार्यले सचेत गरेका थिए । वार्ता सकारात्मक भएको र छिटै वार्ताबाटै समाधान हुनेमा आफूहरू विश्वस्त रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका सल्लाकार समितिका कार्यवाहक संयोजक योगेन्द्र धिसिङले जनाकारी दिए । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध स्तुपामा घ्याङ गुठी र क्षेत्र विकास बिच कार्यक्षेत्र र तामाङ कल्यण गुठीले घ्याङगुठीको जग्गा अतिक्रणको विषयलाई लिएर विवाद हुँदा केही समयदेखि बौद्धमा प्रदर्शन भएको थियो ।।

प्रतिक्रिया दिनुहोस्