गाउँका वैज्ञानिक महावीर पुन, जसले बोकिरहेका छन् आविष्कारको सपना



वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन म्याग्दी जिल्लाको नांगी गाउँमा जन्मीएका हुन् । भेडाबाख्रा गोठाले बनेर आफ्नो बाल्यकाल बिताएका पुन गाउँमा एक जिर्ण अवस्थामा रहेको पूर्वाधारको अभाव भएको सरकारी विद्यालयमा पढ्दै थिए। पुनका पिता, एक रिटायार्ड ब्रिटिश गोर्खा आर्मी थिए र उनले आफ्नो परिवारलाई देशको दक्षिण भेगमा बसाई सर्ने र छोराको शिक्षामा लगानी गर्ने निर्णय लिनाले पुनको जीवनमा ठुलो परिवर्तन ल्यायो।
आफ्नो उच्च माध्यमिक शिक्षा सकाएर पुनले १२ वर्ष ४ वटा बिद्यालयमा पढाउने काम गरे । सन् १९८९ मा पुनले नेब्रास्का बिश्वबिध्यालयबाट विज्ञान शिक्षामा स्नात्तकोत्तर हासिल गरे। स्नातक सकाएर २४ वर्ष पछी आफ्नो गाउँ नांगी फर्किदा उनले दिगो शिक्षाको आवश्यकता महसुस गरे। जसको सुरुवात उनले हिमान्चल ऊच्च माध्यमिकको स्थापना बाट सुरुवात गरे। कम्प्युटर शिक्षा र आय श्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउदै देश लाई विकास को ज्योतितिर अग्रसर गराउन थाले।

सन् २००१ महाबीर पुनको जीवनको स्वर्णिम वर्ष रहन गयो । जब ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशनले उनको गाउँगाउँमा इन्टरनेटको पहुच पु¥याउने महत्वाकांक्षी योजनालाई विश्व समुदायमाझ पेस गरिदियो। बिबिसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहहोगी दाताहरुले पुनलाई आर्थिक सहयोग गरे। त्यस सहयोगबाट उनले नांगी र राम्चे आसपासका गाउँहरुमा वायरलेस इन्टरनेट संचालन गर्न सफल भए।

पुन ‘इन्टरनेट हल अफ फेम’, ’समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भए ।

पुनले सन २०१२मा सूचना तथा प्रबिधी मार्फत सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरे। यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाँचो हुने भएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाए। विगत चार वर्षमा ५ वटा सरकार फेरिए तर उनलाई सहयोग कसैले गरेन। सरकारले केही नगरे पनि देश विदेशमा रहेका नेपालीहरुले पुनलाई सहयोग गरिरहेका छन्।

महावीर पुन भन्छन्, “म एउटा अनौपचारिक मान्छे । अनौपचारिक कुन मानेमा भने मेरो कुनै जागिर छैन । कुनै ब्यवसाय छैन । मेरा जति पनि कामहरु भईराखेका छन् अनौपचारिक रुपमा भईराखेको हुनाले म एउटा अनौपचारिक मान्छे हुँ ।

म अहिले सम्म पनि आफूलाई शिक्षक भन्छु । हुन त तपाईहरुले सुन्नु भएको छ होला महावीर पुन भनेको एउटा विज्ञ हो, अथवा आविष्कार गर्ने बैज्ञानिक हो अथवा के हो भन्ने सुन्नु भएको होला, मान्छेले हावामा भन्दै हिँडेका छन् । म केही पनि हैन । म आफूलाई विज्ञको रुपमा कहिले पनि राख्न चाहन्न । म एउटा शिक्षक मात्रै हुँ । १३ बर्ष सम्म मैले स्थायी शिक्षकको रुपमा काम गरेको हो । २०३६ सालको आन्दोलन हुँदा म चितवनमा शिक्षक थिएँ, शिक्षक साथीहरु आन्दोलनमा उत्रिनु भयो । म पनि संग सँगै मैदानमा उत्रिएको हो । शिक्षक संगठनको शुरुको दिन देखि २०४४ साल सम्म चितवनमा बनेको शिक्षक संगठनको तदर्थ समितिमा पनि मैले काम गरेको हुँ ।

१३ बर्ष सम्म स्थायी शिक्षक भएर काम गरेपछि मेरो दिमाग विग्र्यो, म बहुलाएँ !

म बहुलाएर अमेरिका गएँ । अहिले पनि उतिबेलाका साथीहरु भेट्यो भने हाँस्छन् । अमेरिका गएँ, के के पढेर आएँ, अमेरिकामा पढेको उतै छाडेर आएको हो ।

नेपालमा आएर काम गरेको पनि अहिले २५ बर्ष भयो । २५ बर्ष देखि मैले अनौपचारिक रुपमा सेवाको रुपमा काम गरेँ । यसरी काम गर्दा पनि शिक्षालाई नै केन्द्रविन्दु बनाएर काम गरेको हो । मैले म्याग्दी जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर उकास्नको लागि र त्यहाँको आर्थिक समस्याहरु केही समाधान हुन्छ की भनेर विभिन्न आय श्रोतका कार्यक्रमहरु, पर्यटनका कार्यक्रमहरु, आय आर्जनका कार्यक्रमहरु शुरु गरेको हो । जुन अझै पनि चलिराखेको छ ।

भर्खर भर्खर ईण्टरनेटको जमाना आउँदै थियो, यसलाई विद्यालयहरुमा लैजान सकियो भने, पठनपाठनमा र विद्यार्थीले पाउने शिक्षाको गुणस्तरमा पक्कै पनि सहयोग हुन्छ भन्ने लाग्यो । किन भने मैले अमेरिकामा सिकेर आएको कुरा मैले लागू गर्न चाहन्थेँ । गरेको त्यही हो, जानेको जति जे जे गरियो त्यही हो ।

२५ बर्ष मैले कुनै जागिर खाएको हैन, समाज सेवाको रुपमा काम गरे पछि मलाई एउटा ज्ञान प्राप्त भयो । त्यसरी समाज सेवा गरेर देशको विकास गर्छु भनेर कोही लागेको छ भने देशको विकास हुँदो रहेनछ । समाज सेवा र देशको विकास भन्ने कुरा एकदमै भिन्न कुराहरु हुन् भन्ने सिक्न मलाई २५ बर्ष लाग्यो ।

त्यसैले मैले अहिले राष्ट्रिय आविष्कार केन्द्रको अभियान चालेको छु ।

देशको विकास देशलाई समृद्धि बनाउने भन्ने कुरा हरेक नेपालीको चाहना छ । यसका लागि हरेक दल, तीनका नेता र सारा नेपाली लागेका छन् । सके सम्म छिटो समृद्धि होस् भन्ने सबैको ाहना छ सपना छ । तर, समृद्धि बनाउ भनेर उफ्रेर मात्रै समृद्धि आउँदैन । समृद्धि बनाउनका लागि काम गर्नु पर्छ ।

कुनै पनि देशलाई समृद्ध बनाउन के के चाहिन्छ भनेर लिष्ट बनाउने हो भने निकै लामो लिष्ट बन्छ । नेपालमा त्यो लामो लिष्टमा एउटा कुरा छुटेको छ । त्यो लिष्टमा जब सम्म देशको प्रतिभालाई शिर्ष स्थानमा राखिदैंन देश समृद्ध हुँदैन । संसारका जतिपनि विकसित देश छन् तिनले आफ्नो देशको प्रतिभालाई शिर्ष स्थानमा राखेकै कारण अहिले यो स्थानमा आएका हुन् । तर, हामीले त्यो शिर्ष स्थानमा राख्नु पर्ने कुरालाई हामीले एकदमै तल्लो स्थानमा राखेका छौं । जब सम्म हामी नेपालीले यो कुरालाई शिर्ष स्थानमा राख्दैनौ राख्ने शाहस गर्दैनौं तब सम्म नेपाल कहिले पनि समृद्ध हुँदैन, यो कुरा ग्यारेण्टि दिन्छु म ।

देशको प्रतिभाशाली सन्ततीहरुलाई देशमा राख्नु पर्छ । जुन कुरा नेपालमा भएकै छैन । अमेरिका जापान बेलायत जति पनि विकसित देश भन्छौ उनीहरुले प्रतिभालाई देशमा राखेर उनीहरुको प्रतिभालाई प्रयोग गरेर त्यो प्रतिभाबाट देशको आर्थिक विकास गरेको हो ।

१९६० को दशकमा हामी जस्तै थियो । तर अहिले उनीहरु कहाँ छन् हामी कहाँ छन् ? उनीहरुले के गरे र त्यहाँ पुगे हामीले के गरेनौं र पिँधमा छौं ? उनीहरुले केही गरेकै हैन । उनीहरुले आफ्नो देशको प्रतिभालाई आफ्नै देशमा काम गर्ने वातावरण मिलाए । प्रतिभालाई फकाएर फुलाएर के गरेर हुन्छ देशमै राखेर देशको आर्थिक विकास गरेको हो उनीहरुले । र, त्यो गर्ने काम चाँही सरकारको हो । तर, २००७ साल देखि ०७४ साल सम्म नेपालमा जति सकेर बने यो कुरालाई पटक्कै प्राथमिकता दिएन ।  त्यसैले नेपाल गरीब भएके हो, त्यसैले यो कुरालाई जनस्तरबाटै सबै मिलेर सरकारलाई मद्धत गरौं ।

देशमा राष्ट्रिय आविष्कार केन्द्र जस्ता अनुसन्धान केन्द्रहरु स्थापना गरौं र एउटा जग बसालौं, यो बन्ने वित्तिकै सबै कुरा एकै पटक हुने कुरा हैन, एउटा जग बसालौं र त्यो जग माथि काम गरौं । अनी देश समृद्धिको सहि बाटो लाग्छ । यो बाटोबाट देशलाई समृद्ध बनाउन ३० – ३५ बर्ष भन्दा बढि लाग्दै लाग्दैन ।

यो गर्न कुनै गाह्रो काम नै छैन । कुनै पनि प्रतिभालाई के चाहिन्छ त्यो पुर्याईदिने मात्र हो । तपाईहरुका छोराछोरी छन् होला, तीनीहरुलाई कसरीपाल्नु भा छ ? त्सरी नै पाल्ने हो प्रतिभालाई । उनीहरुलाई पैसा चाहिने भए पैसा दिने हो, खाना भोकै भयो भने खाना खुवाउने हो । उनीहरुलाई पढ्न के चाहिन्छ त्यही वातावरण उपलब्ध गराउने हो ।

देशको बढ्दो ब्यापार घाटा डरलाग्दो छ । ९० प्रतिशत बस्तु हामी आयात गछौं सात आठ प्रतिशत मात्रै निर्यात् गर्छौ । यस्तो किसिमको ब्यापार घाटा घटाउने भनेकै देशको प्रतिभालाई देशमै राखेर उनीहरुबाट अनुसन्धान तथा विकास गरेर उनीहरुको आईडियालाई बजारीकरण गर्नु पर्छ । अरु सबै विदेशी देशहरुले गरेको त्यही हो । हामी यहि कुराहरुको लागि यो अभियानमा जुटेका छौं । तपाईहरु पनि शिक्षक हुनुहुन्छ तपाईहरुले आफ्नो क्षेत्र वा विद्यालयमा यस्ता प्रतिभा भएका विद्यार्थी देख्नु भएको छ भने पहिले देखिनै उनीहरुलाई त्यही अनुसार पालन पोषण गरिदिने, हुर्काउने त्यही अनुसारको वातावरण निर्माण गरी दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्