‘अब मेयर हुने पालो मेरो हो ’ वडा अध्यक्ष तण्डुकार



लामो समय देखि नेपाली काँग्रेसको राजनीति गर्दै आएका हिरालाल तण्डुकार काठमाडौँमा परिचित व्यक्तित्व हुन् । २०४९ र २०७४ मा काठमाडौँ महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष निर्वाचित भएका हुन् । काका उपनामले चिनिएका सरल स्वभावका तण्डुकारसंग गरिएको कुराकानीको सार सङ्क्षेप

तपाईलाई त प्रकाशमान सिंहको संसदीय राजनीतिको मेरुदण्ड भन्छन् नि ?
उहाँले र अन्य सबैले यसरी मूल्याङ्कन गर्दा धन्यवाद भन्छु । धेरैले केही हेरेर भन्नु भएको होला ।

प्रकाशमान सिंहलाई संसदीय राजनीतिमा सङ्कट पर्दा तपाइको मुख्य भूमिकाले नै जोगाउन सक्नुको कारण के हो ?
मेरो सरल स्वभावले हाला सायद । मैले पैसाको बलमा राजनीति गरिन । पैसा मागेर र पैसा दिएर राजनीति गर्ने प्रवृत्तिको म विरोधी हुँ । मेरो विचारमा राजनीति गर्ने भनेको पैसाको लागि होइन । मेरो यही विचार र सरल स्वभावका कारण होला, वडा वासीले निर्वाचनको समयमा मेरो कुरा सुनिदिनु भयो ।

तपाई लामो समय पछि वडा अध्यक्ष हुनु भयो । के फरक पाउनु भयो ?
पहिला काम गरेको बानीले मलाई सजिलो परेको छ । पहिला चार जना चुन्न पाउने अधिकार थियो । मैले चार स्थान भोटे बहाल,थापाथली,त्रीपुरेश्वर र चुरियागाउको मान्छे रोजेको थिएँ ।
अहिले पनि यसै ढङ्गले निर्वाचनमा उम्मेदवारको छनोट गरियो । चार क्षेत्रको हुनु हुन्छ । यसले गर्दा मैले काम गर्न सजिलो भएको छ । त्यो समयको भन्दा सामाजिक समस्या फेरिएको छ ।
हामी कोही पनि करोडपति भएर राजनीति गरेका होइनौ । यस कारण अहिलेको समयमा केही भत्ता पनि छ । यसलाइृ अझ अलिकति बढाइयोस् भनेर मेयरसँग राखेको छु । तर, म हाम्रा साथीलाई पनि के भन्न चाहन्छु भने जनताको काम गर्दा एक रुपैयाँ पैसाको लोभ भने उहाँहरूसँग गर्नु हुँदैन ।

तपाई यत्ति लामो समय राजनीतिमा लाग्नु भयो, तपाइ भन्दा जुनियर मान्छे नेता भइसके । तपाइ नहुनुको कारण ?
हामी २०३६ सालमा जेल परेका हौ । तर, पहुँच छैन भनौ भने गिरिजा बाबु, कीसुनजी, शेर बहादुर देउवा सबैले चिन्नु हुन्छ । गणेशमान कहाँ त झन् कुरै नगरौँ । तर,खोइ किन हो, काठमाडौँमा खुट्टा तान्ने समस्या बढ्यो । एउटाले अर्कोलाई खुट्टा तान्ने प्रवृत्ति बढेको छ । त्यो हाम्रो पार्टीका मात्र होइन, वामपन्थीको पनि त्यही हो । खोइ त काठमाडौँको मान्छे मन्त्री भएको ?
काठमाडौँका मान्छेमा यो चेतना किन नआएको हो ? गत चुनावमा एक थरी हाम्रै पार्टीका मान्छे प्रकाशमानलाई हराउन लागे । उहाँ पुगे पो हामीले त्यो स्थान पाउने हो । यस पटक प्रकाशमानसँग मलाई मेयरको टिकट चाहिन्छ । उहाँले एक पटक राजु( राजु राज जोशी)ले धेरै सहयोग गरेको कारण उसलाई दिनु पर्छ भनेकोले मैले माने ।

यसको मतलब अब मेयरको दाबेदार तपाई हो ?
हो अब म मेयरको दाबेदार हु ।

तपाई र मेयर फरक पार्टीको भएको कारण भएकाले केही अप्ठेरो त भएको छैन ?
हाम्रो बिचमा एकदम राम्रो सम्बन्ध छ । हामीले मिलेको देखेर दुवै पार्टीकाले सोध्ने गरेका छन् । मेयरको टिकट मैले पाए भने कसरी काम गर्ने भन्ने अनुभव गर्नु पर्ने छ । हालको मेयर के के कुरामा असफल हुनु भयो र के गर्नु पर्छ भनेर बुझ्दै छु । मैले टिकट पाएँ भने र जिते भने आफूले राम्रो काम गर्नु पर्छ । यसको लागि अहिलेको मेयरको काम बाट सिक्न पाइएको छ ।
पहिला पिएल सिंहको पालामा र अहिलेको पालामा फरक छ । पिएल सिंह समयमा बफादार हुनु हुन्थ्यो । अहिलेको मेयर हुनु हुन्न । त्यो समयमा २ बजे बैठक भयो भने सवा दुई बजे हाजिर हुनै पर्थ्यो । साढे दुईमा बैठक सुरु हुन्थ्यो । सवा दुई बजेसम्म कोरम नपुगे बरु बैठक स्थगित गरिन्थ्यो । तर, ढिला आउनेको कुनै रेकर्ड हुँदैन थियो ।

तपाई नेपालका राजनीतिज्ञ र मतदातालाई के भन्नु हुन्छ ?
राजनीति गर्नेलाई म एउटै कुरा भन्न चाहन्छु । गुटगत कुराले कहीँ उँभो लाग्दैन । सबै कुरा नराम्रो मात्र गर्छ ।

अनि नेपालमा भ्रष्टाचार बढेको होइन ?
यो त सबै क्षेत्रमा छ । ब्यपारमा भ्रष्टाचार, कर्मचारीमा भ्रष्टाचार र मिडियामा पनि भ्रष्टाचार । लेखाले भ्रष्टाचार । नेताले भ्रष्टाचार गर्ने, लेखाले मिलाउने, प्रहरीले गलत रिपोर्ट तयार गर्ने र पत्रकारले त्यसै अनुसारको समाचार बनाउने गरेर भ्रष्टाचार बढेको हो ।

प्रतिक्रिया दिनुहोस्