Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

आत्महत्या दुरूत्साहन के कसरी मानिन्छ? 



बिवेक खतिवडा, 

आत्महत्यामा दुरुत्साहन हुनको लागि कम्तिमा तलका तीनवटा कुरा पुस्टि हुनुपर्छ।

१. Suicide : व्यक्तिले आत्महत्या नै गरेको ठहरिनु पर्छ।

२. Instigation : आरोपित व्यक्तिले आत्महत्या गरेको व्यक्तिलाई आत्महत्याको लागि योजना बनाउन सहयोग गरेको, प्रोत्साहन गरेको पुस्टि हुनु पर्छ। जस्तो कि झुन्डिएर मरेको छ भने डोरी किनिदिएको वा डोरी किन्न पैसा दिएको। विष खाएको छ भने अन्य कुनै प्रयोजन नभएको अवस्थामा विष किनेर दिएको। उसलाई मर्नुबाहेक अरू विकल्प ऊसँग बाँकी छैन भनेर उसलाई कन्भिन्स गराउन प्रयास गरेको वा त्यस्तो परिस्थिति खडा गरेको। आत्महत्या गर्न प्रेरित हुने स्थानमा पुर्‍याएको आदि जस्ता कुरा पुस्टि हुनु पर्छ।

३. Mens rea : आरोपित व्यक्तिमा आपराधिक मानसिकता भएको पुस्टि हुनु पर्छ। जस्तो कि दाम्लो बनाउन किनिदिएको डोरीले झुन्डिएर मरेको बुझियो भने त्यो आपराधिक मानसिकता भएन। मुसा मार्न किनेको विष खाइदिएको हो भने त्यो पनि आपराधिक मानसिकता भएन। आरोपितले निर्वाह गरेको भूमिकामा आपरिधकता प्रमाणित हुनु पर्छ।

यी तीन कुरामध्ये पनि instigation महत्वपूर्ण हुन्छ। प्रेरित गर्ने, जगाउने, उत्तेजित गर्ने (प्रत्यक्ष वा परोक्ष) घटना भएको हुनु पर्छ। यो क्रममा आत्महत्या गर्ने व्यक्तिको आचरण र जीवनशैली, मनोवैज्ञानिक स्थितिको पनि उत्तिकै महत्व हुन्छ। किनभने व्यक्तिको आत्मसम्मानको फरक फरक परिभाषा हुन्छ। आरोपितको व्यवहारबाट व्यक्तिको आत्मसम्मानमा गम्भिर चोट लागेर समाजको अगाडि मुख देखाउन नसक्ने स्थिति भएको छ भने त्यो अप्रत्यक्ष प्रोत्साहन भयो। तर स्वयम् व्यक्तिको कुनै करतुतको कारण फस्दै गएको छ र निश्चित प्रकारको ब्ल्याकमेलिङमा पनि परेको छ भने त्यो दुरुत्साहन हुन सक्दैन।

नेपाल, भारतमा आत्महत्या गर्न दुरुत्साहनका केस विषेश गरेर नवविवाहित युवतीहरूमा देखिने गर्छ, खास गरेर दाइजोको विषयलाई लिएर। हाम्रो सामाजिक संरचनाले स्त्रीहरूलाई जुन स्थितिमा राखेको छ र दाइजो ल्याउन नसकेको विषय चर्को गरी उठेको र मानसिक तथा शारीरिक पीडा दिएको छ भने उपायविहीन स्थितिमा आत्महत्या गर्न बाध्य भएको हुन सक्छ। त्यो दुरुत्साहन हुन्छ। तर स्वतन्त्र व्यक्ति चारित्रिक दुर्वलताको कारण ब्ल्याकमेलिङमा पर्ने डरले वा ब्ल्याकमेलिङ (भयदोहन) मा पर्दै गर्दा वा कसैले जागिरबाट निकाल्दैमा वा आर्थिक समस्यामा पर्दैमा वा गम्भिर आरोप लगाउँदैमा सहन नसकेर आत्महत्या गर्छ भने त्यो आत्महत्या दुरुत्साहन हुन सक्दैन। उदाहरणको लागि भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको व्यक्तिले आत्महत्या गरिसकेपछि भ्रष्टाचार प्रमाणित भएन भने मुद्दा दर्ता गर्ने संस्थाको दुरुत्साहन ठानिँदैन। संस्था र सम्बन्धित व्यक्तिको गम्भिर लापरवाही वा अधिकारको दुरुपयोग ठहरिन सक्छ।

दुरुत्साहन हुनको लागि व्यक्तिको मानसिक अवस्था वा उमेर पनि महत्वपूर्ण तत्व हुन्छ। कानूनले तोकेको भन्दा कम उमेरको वा अशक्त अवस्थाको छ भने दुरुत्साहनको तर्क बलियो हुन्छ। मानसिक रूपल अस्वस्थ व्तक्तिले पनि ठिक र बेठिक छुट्टयाउन नसक्ने तर्कको आधारमा दुरुत्साहनको प्रभावमा परेको ठहरिन सक्छ। परिवन्दले छेक्दै नल्याएको अवस्थामा मानसिक रूपले स्वस्थ्य व्यक्तिले संघर्ष गर्ने र आफूलाई सक्षम प्रमाणित गर्नु पर्ने दायित्व आफैसँग हुनु पर्छ, हुन्छ भन्ने सामान्य अपेक्षा गर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्