इसुवा खोलामा लगानी संझौता, नीजि क्षेत्रको सवैभन्दा ठुलो आयोजना बन्ने पक्का



काठमाण्डौं । स्वदेशी लगानीमा बन्न लागेको ९७.२० मेगावाटको इसुवा खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।  सानिमा बैंकको अगुवाईमा ६ बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने संझौता भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबिच आयोजना प्रर्वद्धक केबिएनआर इसुवा पावर लिमिटेड र बैंकहरुबिच आज लगानी संझौता भएको हो । कम्पनीकातर्फबाट प्रमुख विरेन्द्र न्यौपानेले द्धिपक्षीय संझौतामा हस्ताक्षर गरेका हुन् ।

संखुवासभामा निर्माण हुने आयोजनामा सानिमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ भने बाँकी कर्मचारी सञ्चयकोष, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक, मेघा र कुमारी बैंक लिमिटेडले लगानी गर्ने भएका छन् । आयोजना कुल १० अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । नीजि क्षेत्रले निर्माण गर्ने वित्तिय व्यवस्थापनसम्म पुगेको यो आयोजना नै पहिलो हो ।

बैंक ऋण ८० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ र स्वपुँजी २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ लगानी हुनेछ । कुल १० अर्ब रुपैयाँले आयोजनाको प्रतिमेगावाट लागत करिब १० करोड २९ लाख रुपैयाँ हुनेछ । नीजि क्षेत्रले निमार्ण गर्न लागेको यो नै सवैभन्दा ठुलो अर्धजलाशय आयोजना पनि हो ।

दैनिक ६ घण्टा पिकिङ गर्न सकिने आयोजनाबाट वार्षिक ६ सय ४८ गिगावाट घण्टा अर्थात ६४ करोड ८० लाख युनिट विद्यतु उत्पादन हुने कम्पनीले जनाएको छ । यसैवर्ष काम सुरु हुने आयोजनाले २०८० को अन्त्यबाट विद्युत उत्पादन हुने लक्ष्य छ । उत्पादित विद्युत आयोजनास्थलदेखि १७ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने शितलपाटी सवस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्