Logo
बुधबार, २७ कार्तिक २०७६
(Wednesday 13th November 2019)

राष्ट्रपति भण्डारीबाट नेपालमा चिन विरोधी गतिविधि नहुने प्रतिबद्धता




नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । दुई राष्ट्रपतिबिच शनिवार साँझ सात बजेपछि राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो । भेटका क्रममा दुई राष्ट्रपतिले दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यबारे छलफल गरे ।
झन्डै ४० मिनेट भएको कुराकानीका क्रममा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको र नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । भेटका क्रममा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुनर्निर्माणमा चीनले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपालले चिनियाँ लगानी र सहयोगलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
राष्ट्रपति सिले नेपाल र चीनको सम्बन्ध अटल रहेको उल्लेख गर्दै नेपालको विकासमा सहयोग गर्न चीनले तयार रहेको बताए । उनले ट्रान्सहिमालयन कनेक्टिभिटीले दुवै देशबिचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । सिले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकलाई नेपाल घुम्न प्रेरित गर्ने पनि बताए ।
भेटवार्ता सकिएपछि दुवै राष्ट्रपति सिको सम्मानमा भण्डारीले सोल्टी होटेलमा आयोजना गरेको रात्रीभोजमा सहभागी भए ।

प्रतिक्रिया दिनुहोस्