Logo
मङ्गलबार, २४ मङि्सर २०७६
(Tuesday 10th December 2019)

हो ठोक्नुपर्छ, शारदाप्रसाद अधिकारीहरुलाई….



    
गङ्गा बराल,
शारदाप्रसाद अधिकारी तिमी निर्माण व्यवसायी हौ । तर सहरमा तिमी प्रचण्डका घरबेटीको परिचयमा परिचित छौं । तिम्रो मातृ पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुनु तिम्रो बदनामीको खास कारण बनेको छ । अघिल्लो वर्ष समयमा काम नगर्ने एक सय छ जना ठेकेदारमध्ये तिमी नेतृत्वको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. ६४ नम्बरमा थियो गृहमन्त्री रामबहादुर थापा वादलले सार्वजनिक गरेको ठेकेदारको सूचीमा । तर, शहरमा तिमी र तिम्रो कम्पनी नै नम्वर वान चर्चामा छ, सबैलाई माथ गर्दै । किनकि तिमी कम्युनिष्ट भयौ ।
धन्न तिम्रो कम्पनीलाई वाम कम्पनी भनी हालिएको छैन । सरकारको दृष्टिमा ‘बदमासी’ गर्ने ‘क’ श्रेणीका ठेकेदारमध्येका एक तिमी किन यति सारो चर्चित त बदनामीमा ? किनकि तिमी सहिद परिवारका व्यक्ति प¥यौ । तिमी कुलीन वंशका उत्तराधिकारी रहेनौ । तिमीले माओवादी युद्धकालदेखि अहिलेसम्म वाम विचारधारा त्याग्न सकेनौ, जनयुद्धको मर्म र भाव बिर्सन सकेनौं । त्यसैले तिमी अरु एक सय पाँच ठेकेदार कम्पनी जस्तै ‘सामान्य’ परेनौ । तिमीले नुवाकोट साबिकको बागेश्वरी गाविस अर्थात अहिलेको सूर्यगढी गाउँपालिका ३ मा जन्मे हुर्किएर उतै सामान्य खेती किसानी गरेका भए शायद आजको वदनाम व्राण्डको एम्वेसडर हुनुपर्ने थिएन ।
परिवार सामान्य खान लाउन पुग्ने खालको हुँदाहुँदै तिमीलाई जनयुद्धको समर्थन, सहयोगी मनकै कारणको उपज हो तिम्रो आजको आलोच्य वर्तमान । पिता विहीन युवाको जिन्दगीका सुखदुःखका तिमी जिवन्त प्रतिनिधि इतिहास हौ । थाहा छ, क्याम्पसको पढाइसँगै तिमीले काम पनि गरेर २०४८ देखि ५१ सालसम्म एउटा कम्प्युटर इन्स्टिच्युटमा आफ्नो युवा ऊर्जालाई जीवन चलाउने पैसामा बदल्यौ । अल्लारे बनेर बरालिने उमेरमा व्यावसायिक जीवनपथमा आफूलाई समाहित गर्दा निश्चय नै तिमी, सानै उमेरमा धेरै लामो यात्राको सफरका लागि तयार बन्यौं ।
उतिबेलादेखिको तिम्रो काममा जुन लगाव बस्यो, शायद त्यसैको निरन्तर लगाव र मेहनेतले आज तिमी यो स्तरको व्यवसायी बनेका हौ । भोटाहिटी कम्प्युटर इन्स्टिच्युटमा सञ्चालक बनेर सुरु तिम्रो व्यावसायिक यात्रा अहिले प्रतिष्ठित निर्माण व्यवसायी बन्दा तिमी मात्रै चौतर्फी प्रहारको तारो किन बनिरहेका छौ ? थाहा छ ? कारण तिमी, कम्युनिष्ट विचारधाराका भयौ, प्रचण्डका घरबेटी भयौ । यहाँ एकखालको सामाजिक मनोविज्ञान वा रोग भनेकै प्रचण्ड विरोधी फोबिया पनि छ । बस, तिमी, त्यसकै शिकार भयौ ।
०५२ सालमा माओवादीले सुरु गरेको ‘जनयुद्ध ’ मा तिमी सुरूदेखि नै समर्थक हुनु नै तिम्रो भुल साबित गर्ने, तिमी काँधमा टेकेर शीर्ष नेतृत्वलाई खुइल्याउने, प्रहार गरिरहने र अन्ततः सिध्याइदिने यहाँ लामो षडयन्त्र र योजनाहरु छन्, त्यसको एक पाटोमा तिमी उभियौ, त्यसै कारण निरन्तर दागिन्छौं । आफ्नो सानो व्यवसायसँगै तिमीले जनयुद्धमा भित्रभित्र माओवादीलाई सहयोग गर्नु तिम्रो महानता थियो, तर यहाँ एकाथरीहरु, जसलाई जनयुद्ध भनेपछि ज्वरो आउँछ, उनीहरुको योजनावद्ध गोयवल्स प्रचार खेतीमा तिमी एकनम्बरी दुश्मन बन्नुको जग हो ।
भूमिगत कालमा उपत्यकाकै तलका कमिटीहरुमा काम गर्दै नेताहरूलाई सेल्टर दिन थालेपछि पार्टी र नेतासँग सुमधुर सम्बन्ध हुनु र अहिलेसम्ममा त्यो झाँगिदै जानुलाई नै तिम्रो व्यावसायिक जीवनको उदय र प्रगति देख्ने तर तिमीले अनवरत रुपमा देखाएको कामप्रतिको इमान, मेहनेत र समपर्णलाई ओझेलमा पार्नु समकालीन समाज, मिडियाको एक हिस्साको बाह्रैमासे खेती हो । तिमी त्यसैको शिकार भएका हौ । ‘जनयुद्ध ’ को घाउ र पीडा कति अपुरणीय छ ? त्यो तिम्रो आत्मा र तिम्रा समकालीनलाई मात्रै ज्ञात छ, तर बाँकी दुनियाँ त तिम्रो सिन्धुलीका ससुरा बा कमलप्रसाद देवकोटालाई सेनाले सोलुखुम्बुमा र साली कलाकार निर्मला देवकोटालाई अनेकोटमा विभत्स रुपमा मारेको कहालिलाग्दो क्षणलाई पनि गिल्ला गर्छ ।
किनकि ‘जनयुद्ध’ भन्नासाथ घृणा गर्ने स्वदेशदेखि विदेशसम्मको सामाजिक तप्का तिमी जस्ता शहीद परिवारका मान्छेको संघर्ष र बलिदानलाई यहाँ हसिमजाक र खिसीटिउरी गरेरै लोकतन्त्रको बर्कोभित्र घिऊ खादै हुर्के, बढेको हो । यो पनि पढ्नुहोस् शारदा अधिकारीको आवरणमा प्रहारको निशाना प्रचण्ड देशको शासन व्यवस्था बदल्ने त्यो ‘जनयुद्ध ’ मा सहिद परिवारको सदस्य रहदा पनि तिमीमाथि नै भइहरने निरन्तरको आक्रमण, त्यही ‘जनयुद्ध’ विरोधीहरुको बान्ताको प्रतिक न हो, तिमी एक निमित्त पात्र मात्रै हौ ।
युद्धताका सहिद भएका शेरमान कुँवर, यानप्रसाद गौतम ‘आलोक’ र काभ्रेका माओवादी नेता दिनेश शर्मासँग तिम्रो सामीप्यतापूर्ण सहकार्य अहिलेको समाजलाई के मतलव ? मिडियालाई के सरोकार ? पार्टी नीति र विश्वासमा तिमीले जे सक्थ्यौ, त्यही गुन लगायौ ‘जनयुद्ध’ कालमा । त्यो अहिले बरदान होइन, अभिसाप बनाउन अरु त लागे लागे, तिम्रै चारो खानेहरु पनि तिमीविरुद्धका षडयन्त्र गर्नेहरुका मतियार बने, बनिरहेका छन् । यही हो तिम्रो पीडादायक वर्तमान ।
प्रतिक्रिया दिनुहोस्