Logo
मङ्गलबार, १३ फागुन २०७६
(Tuesday 25th February 2020)

सडक विभागले अनुमति नदिँदा जमिनमुनि विजुलीको तार विच्छाउने काम अलपत्र, प्राविधिक टोली एक महिनादेखि काम विहिन



काठमाण्डौं । सडक विभागले समयमा नै अनुमति नदिँदा जमिनमुनि विजुलीको तार विच्छाउने काम अलपत्र परेको छ । प्राधिकरणले जिम्मा दिएको ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नपाए सरकारले त्यसको ठुलो हर्जना तिर्नुपर्ने हुन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीको ठुलो जनशक्ति र उपकरणसहितको प्राविधिक टोली एक महिनादेखि काठमाण्डौंमा काम विहिन भएर बसेको छ ।

विद्युत प्रणाली क्षमता अभिवृद्धि, विद्युतीय जोखिम न्युनिकरणका साथै सुन्दर सहर निमार्णका लागि प्राधिकरणले काठमाण्डौका छरपस्ट तारलाई भूमिगत गर्न लागेको हो । पुसको पहिलो सातादेखि काम थाल्ने गरि ठेकेदार कम्पनीसँग संझौता भएपनि सडक विभागको ढिलासुस्तीले काम अघि बढ्न नसेकेको हो । सडक खन्ने अनुमति पाएसँगै काम सुरु गर्ने प्राधिकरण प्रमुख कुलमान घिसिङले जानकारी दिए । त्यसका लागि सडक विभागसँग अन्तिम चरणको छलफल भइरहको जानकारी पनि उनले दिए ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले सडक विभागलाई पत्राचार गर्नुका साथै पटक पटक छलफल भइसकेको पनि जानकारी दिए । उनले मेलम्चीको जस्तो सडक खन्नु पर्ने नभएकाले अब काम गर्न खासै समस्या नभएको बताए । यता, सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विद्युत प्राधिकरणले ३८६ किलोमिटर क्षेत्रमा विद्युत तार भूमिगत गर्न सडकमा प्वाल पार्न अनुमति मागेको भएपनि परिक्षणका लागि पहिलो चरणमा ३ किलोमिटर क्षेत्रमा अनुमति दिन लागिएको जानकारी दिए ।

परिक्षण पछि अन्य स्थानमा स्विकृती दिने पनि शर्माले बताए । बेलुका खनिएको सडक विमान पुरिसकेको हुनुपर्ने सर्त रहेको पनि उनले जानकारी दिए । प्राधिकरणल २०७८ सम्म पहिलो चरणको विद्युत तथा केबुलतार भूमिगत गर्ने लक्ष लिएको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट वितरण भएको तार भूमिगत गर्ने योजना रहेको पनि प्रवक्ता अधिकारी जानकारी दिए । पहिलो चरणको कार्यप्रगती हेरेर अन्य स्थानको तार भूमिगत गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्