Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

बामदेव नै राष्ट्रियसभामा पठाउनु पर्नेमा दाहाल र खनाल अडिग



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आइतबार बस्दै छ । बिहान साढे ११ बजेपछि बस्ने बैठकमा पार्टीभित्र पछिल्लो समयमा देखिएको असमझदारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत साता बसेको पार्टी सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको २ घण्टा पनि नबित्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय नमान्ने बताएपछि नेकपाभित्र विवाद छताछुल्ल भएको हो ।
वरिष्ठ नेता झलनाथ खनालले पार्टी सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी भित्रको आन्तरिक असमझादारी टुङ्गो लगाउने विषयमा छलफल हुने जानकारी दिए ।
तथापि राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने १ जनाका विषयमा निर्णय भइसकेकाले त्यस विषयमा पुनः छलफल नहुने बताए । उनले भने, ‘राष्ट्रियसभामा हामीले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरिसकेका छौँ । यस विषयमा दोर्होयाएर छलफल हुँदैन । पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुहुन्छ, वामदेव राष्ट्रियसभामा जानुहुन्छ । युवराज खतिवडा के गर्नुहुन्छ, थाहा छैन ।’
गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा सचिवालयले गरे पनि सो निर्णय आफूले नमान्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बताएपछि निर्णय नै सङ्कटमा परेको छ ।
२ दिनपछि राष्ट्रियसभाका १९ सिट खाली हुँदै छन्, जसका लागि १८ जना गत ९ माघमा भएको निर्वाचनबाट निर्वाचित भइसकेका छन् भने राष्ट्रपतिले मनोनीत गर्ने १ सिटमा वामदेव गौतम जाने या अर्थमन्त्री रहेका युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा नेकपामा विवाद देखिएको छ ।
बैठकले गौतमलाई सिफारिस गरे पनि प्रधानमन्त्रीले नमान्ने बताएपछि सो निर्णय सङ्कटमा परेको हो । यद्यपि, पछिल्लो समय गौतमलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई ६ महिनासम्म अर्थमन्त्रीमा रहन दिने मध्यमार्गी उपायको खोजी भइरहेको छ ।

शुक्रबार चितवन पुगेर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले यो मध्यमार्गी बाटो हुन सक्ने सङ्केत गरेका थिए । यद्यपि, प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

पार्टी निर्णय कार्यान्वयन गर्दै वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनका लागि पार्टीभित्र पटक पटक छलफल भइरहेको छ । आइतबार सचिवालय बैठक बस्नुअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष गौतमबिच समेत भेटवार्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्