Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

प्रसाई नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्ता, विश्वसनीय सेवामा जोड दिने



काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रवक्तामा सन्तोष प्रसाई नियुक्त भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सञ्चालक समितिको बैठकले उपप्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रवक्तामा नियुक्त गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले उपप्रमुख कार्यकारी अधिकृत प्रसाईले उपप्रमुखको जिम्मेवारीसहित प्रवक्ताका समेत जिम्मेवारी बहन गर्ने जनाएको छ । नवनियुक्त प्रवक्ता प्रसाईले नीजि क्षेत्रको यस कम्पनीले विश्वसनीय सेवा दिन कुनै कसरत बाँकी नराख्ने बताए । साथै सेवा विस्तार पनि प्राथमिकतामा रहेको उनको भनाई छ ।

नीजि क्षेत्रको अग्रणी विमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले विमा क्षेत्रको झण्डै एक तिहाई बजार ओगट्दै आएको छ । यस कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ पुगिसकेको छ ।

जीवन बिमा कोष ७७ अर्ब ५९ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५९ करोड भन्दा माथि छ । कम्पनीले यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड बिमा शुल्क संकलन गरेको छ ।

कम्पनीको प्रशिक्षित अभिकर्ता मात्रै १ लाख ५२ हजार ४ सय १२ छन भने देशभर २ सय शाखा तथा उपशाखा कार्यालयहरु मार्फत जीवन विमा सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म यस कम्पनीमा स्वदेश र विदेश गरि २७ लाख २९ हजार ५ सय ११ व्यक्ति बिमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्