Logo
सोमबार, २६ साउन २०७७
(Monday 10th August 2020)

मजदुरको उद्धारकै क्रममा लडेर वाग्मती प्रदेश सांसद दाहाल घाईते, धुलिखेल अस्पतालमा उपचार हुँदै



काठमाण्डौं । अलपत्र पैदल यात्रुलाई औषधी उपचारका साथै राहत वितरणमा सक्रिय वाग्मती प्रदेशका प्रदेश सांसद तथा नेकपाका केन्द्रिय सदस्य राजन दाहाल घाईते भएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका नेपालथोकमा करिब पच्चिस दिनदेखि विपी राजमार्गमा अलपत्र परेका मजदुरलाई सहयोग गर्दै आएका दाहाल उद्धारकै क्रममा सडकनालीमा लडेर घाईते भएका हुन् ।

अचानक लड्दा सांसद दाहालको हात भाचिँएको दाहालसँगै मजदुरको सहयोगमा खटिएका सिन्धुलीका व्यवसायी एवं युवा नेता मनोज श्रेष्ठले बताए । सांसद दाहालको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको पनि श्रेष्ठले जानकारी दिए । दाहालको अवस्था अहिले सामान्य रहेको पनि उनले बताए ।

दैनिक राहत वितरणमा खटिएकाले प्रेसरले उहाँ कमजोर हुनु भएको थियो, सायद त्यहि कारणले पनि हुनसक्छ सिन्धुलीका अर्का युवा नेता असोक गिरीले काठमाण्डौं टेलिभिजनलाई जानकारी दिए । उहाँ सांसद दाहाल घामपानी नभनी बाटोमा नै मजदुरलाई सहयोग गर्न केही दिन यतादेखि निरन्तर खटिइरहनु भएको थियो, त्यो प्रेसरले हो,  गिरीले भने ।

सांसद दाहालको सक्रियताका साथै सुनकोशी गाँउपालिकाको सहयोगले  लकडाउनका कारण पैदल नै आआफनो गन्तव्य हिड्न वाध्य हजारौं मजदुरलाई ठुलो राहत पुग्दै आएको थियो ।

वीपि राजमार्गमा नै वसी दाहालको नेतृत्वमा सिन्धुलीका युवाहरुको समेत सहयोगमा मजदुरलाई खाना खुवाउनुका साथै स्वास्थ्य जाँच गर्दै गाडीको व्यवस्था गरी गन्तव्यसम्म पुराउने काम हुँदै आएको थियो । जुन कामको सवैतिर प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्